बारा । जिल्लाका बिभिन्न नाकाहरुबाट तस्करहरुलाई लाइन दिने कार्यमा सशस्त्र र नेपाल प्रहरीबीच होडबाजी चलेको छ । तस्करी र आर्थिक अपराध नियन्त्रण गर्न जिम्मा पाएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै उच्च सुरक्षा अधिकारीहरुले आर्थिक लाभ लिनका लागि तस्करलाई लाइन दिएको सार्वजनिक हुँदै आएको छ ।
सशस्त्र र नेपाल प्रहरीका उच्च सुरक्षाकर्मीहरुबाट नै तस्करहरुलाई लाइन दिएपछि सिम्रौनगढ, कचोर्वा, पचरौता, सन्तगन्ज, सन्फुलवा, बेल्दारी, बसतपुर, मटिअर्वा, बलिरामपुर मुसहर्वा लगायतका छोटी नाकाहरुबाट दैनिक भन्सार छली गरेको करोडौं मूल्य बराबरका खाद्यान्न, कस्मेटिक, मेसिनरी, राँगा, भैसी निर्धक्क रुपमा भित्र्याउने क्रम बढदै गएको छ भने नेपालबाट केराउ, सुपारी, मरिच भारत पठाउने कार्य समेत भइरहेको छ ।

बलिरामपुर मुसहर्वा नाकाबाट छोटेलाल पटेल, मुरारी महतो, भोला मियाँ, खेना यादव समूहले कपडा भित्र्याउने गरेका छन् । पटेलको समूहले नै कलैयामा खपत हुने कपडाको ५० प्रतिशत भन्दा बढी भन्सार नै नतिरी तस्करी गरेर ल्याउने गरेको कलैयाका कपडा व्यपारीहरुले बताएका छन् ।
मुसहर्वा नाकाबाट नै सन्तोष गुप्ता, सुरेन्द्र जैसवाल, जयप्रकाश महतो, मनोज यादव लगायतका कारोबारीले राती राति राँगा र भैसीहरु नेपालमा भित्र्याउने गरेका छन् । जितपुरका सरोज श्रीवास्तवले भन्सार छली गरेर कपडा भित्र्याउने गरेका छन् भने भारत बिहार अगर्वा अरबिन्द यादवले हुण्डीका साथ साथै छोगडा र मरिचको समेत अबैध रुपमा कारोबार गर्न शुरु गरेका छन् ।
तस्करहरुका लागि लाइन खुल्ला गरिएपछि उनीहरुबाट आर्थिक संकलन गर्नका लागि मधेश प्रदेशमा रहेको सशस्त्र प्रहरीको छिन्नमस्त बाहिनी बर्दिवास र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका साथ साथै जिल्ला तीन तहका घुमुवाहरु परिचालन गरेका छन् ।
सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले बाराबाट रकम असुल्न बरिष्ठ सशस्त्र प्रहरी हवल्दार अशोक साह, सहायक सशस्त्र प्रहरी सहायक हवल्दार जवान रत्नसागर झा , सशस्त्र प्रहरी बरिष्ठ हवलदार नन्दलाल यादव र सुरेश महतो र सुनिल यादव घुमुवामा परिचालन गरेका छन् । त्यसैगरी बिओपी मटिअर्वाका प्रमुखले शिवसागर बैठालाई घुमुवामा परिचालन गरेको सीमा सुरक्षा बल १२ नम्बर गणका एक प्रहरी अधिकारीले बताएका छन् ।
जिल्लामा रहेको सशस्त्र प्रहरी बलका प्रहरी अधिकृतहरुले तस्करीको लाइन नदिन खोजे पनि डिआइजी सा’बबाट नै व्यपारीहरुको नामै तोकेर लाईन दिने आदेश आउने गर्दा आफूहरु बाध्य भएर तस्करहरुलाई लाइन दिनुपरेको ती प्रहरी अधिकृतले बताए ।
सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगर आफ्नो नाममा केही व्यक्तिहरुले तस्करबाट रकम उठाउने गरेको जानकारी आफूसँग पनि आए पनि आफूले घुमुवा परिचालन गरेर तस्करबाट आर्थिक संकलन गराउने कार्य नगरेको बताएका छन् ।
त्यसैगरी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरिक्षक उमेश रंजितकार र बाराका प्रहरी प्रमुख दिलीपसिंह देउवाले बारामा संजय जैसवाललाई घुमुवामा राखेर तस्करहरुसँग रकम असुली गराउँदै आएको छन् ।
बिभिन्न नाकाहरुबाट तस्करीको लाइन पाएका तस्कर समूहले एसपी, सीडीओ र डिआइजीहरुलाई समेत महिनावारी दिएर काम गरेको धाक लगाउँदै हिंडेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बाराका बिभिन्न नाकाहरुबाट तस्करी गराएको र त्यस कार्यमा सुरक्षाकर्मीहरु संलग्न रहेको भनी कारबाही गर्न गृह मन्त्रालयबाट पत्र आएको र कारवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको बताएका छन् ।
आईजीपीको आदेश प्रहरी जवान जैसवालद्धारा अवज्ञा
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक संकलन कार्यमा खटाउँदै आएका प्रहरी जवान संजय जैसवाललाई दंगा नियन्त्रण गणमा पठाउने नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आदेशको अवज्ञा गरेको पाइएको छ ।
प्रहरी महानिरीक्षक क्षेत्रीले चैत ११ गते घुमुवा जैसवालाई बाराबाट हटाएर धनुषाको ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा पठाउने आदेश गरेका थिए ।
आजीपी साहको आदेशमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले संजय जैसवाललाई दंगामा काज सरुवा गरेको पत्र जिल्ला प्रहरी कार्यालय बारामा पठाएका थिए ।
जैसवालाई दंगा नियन्त्रण गणमा पठाउनुको साटो मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराले चैत १० गतेको मितिमा निवेदन दिएर १० दिनको बिदा दिएका छन् ।
आईजीपी केही दिनमा अवकाश भएपछि तिमीलाई कसैले केही गर्न नसक्ने भन्दै बिदा दिएर तिमीले गर्दै आएका कामहरु गर भनेर डिआईजी र एसपी देउवाबाट नै आदेश आएपछि जैसवाललाई दंगामा पठाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी अधिकृतले खुलाएका छन् ।
नेपाल प्रहरीको मूख्यालयबाट एसएसपी बोहराको नेतृत्वमा छानबिन
बर्षौ बर्ष बाराका बिभिन्न नाकाहरु बसेर आर्थिक लाभ लिन तस्करी खुलाएको उजुरीको अधारमा नेपाल प्रहरीको मूख्यालयबाट एसएसपी भरतबहादुर बोहराको नेतृत्वमा छानबिन शुरु भएको छ ।
लामो समयसम्म बारामा बसेर तस्करी खुलाउन सहयोग गरेको, प्रहरी आचरण बिरुद्ध गतिबिधि गरेको, प्रहरी संगठनलाई नै बदनाम गर्ने कार्यमा केही प्रहरी जवानदेखि जुनियर प्रहरी अधिकृतहरुको बारेमा उजुरी आएपछि त्यसको छानबिन शुरु गरिएको एसएसपी बोहराले बताएका छन् ।
बारामा रहेको पथलैया प्रहरी चौकीका ईन्चार्ज राधामोहन कुशवाहा, मुसहर्वा प्रहरी चौकीका इन्चार्ज सागर राणा, घुमुवाको रुपमा परिचालन प्रहरी जवान संजय जैसवाल लगायत एक दर्जन ब्यक्तिसँग बयान लिएको बोहराले बताए ।
लामो समयसम्म बारामा बसेर आर्थिक लाभ लिनका लागि प्रहरी संगठनलाई बदनाम गर्ने कार्यमा यिनीहरुको संलग्नता भएको र छानबिनको प्रतिबेदन तयार गरेर पेश गरे पनि यिनीहरुमाथि कारबाही प्रक्रिया शुरु हुने बोहराले बताए ।
सशस्त्रका डिआइजीद्धारा ९ सशस्त्र प्रहरीलाई तानेर यातना
सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले पत्रकारलाई तस्करीको जानकारी गराएको भन्दै सीमा सुरक्षा बल १२ नम्बर गण र बाराका बिभिन्न बिओपीमा कार्यरत रहेका ९ जना सशस्त्र प्रहरीलाई तानेर यातना दिने कार्य गरेको खुल्न आएको छ ।
डिआइजी ठाडामगरले घुमुवा परिचालन गराएर तस्करीको लाइन दिएको बिभिन्न सन्चार माध्यमहरुमा समाचार आएपछि त्यसको रिस पोख्न सशस्त्र प्रहरी हवल्दार प्रदीप कुशवाहा, सहायक हवल्दार सनोज यादव, सशस्त्र प्रहरी जवान कृष्ण गुप्ता, जयमंगल गुप्ता, बिकास साह, बिक्रम साह, छोटेलाल यादव, प्रबीन साहलाई तानेर मानसिक तथा शारीरिक यातना समेत दिइरहेको सशस्त्र प्रहरी बाहिनी स्रोतले जनाएको छ ।
डिआइजी मगरले बाराबाट बाहिनीमा तानेका सशस्त्र प्रहरीका नौ जनाको मोबाइल खोसेर ती मोबाइलहरुमा क–कसको फोन कनेक्सन भएको छ , त्यसबारेमा निगरानी गर्न एक जना सशस्त्र प्रहरी नै खटाएका छन् ।
तानिएकाहरुले बाराबाट गलत सूचना सन्चारमाध्यमहरुमा चुहावट गरेकाले काज सरुवा गरी बाहिनीमा राखिएको डिआइजी मगरको दाबी छ ।
उनीहरुलाई तानिने कार्य मात्र गरिएको र कुनै किसिमको यातना दिने कार्य नगरिएको उनले बताए । आजको नागरिक दैनिकमा उपेन्द्र यादवले लेखेका छन् ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend