काठमाडौं । सरकारले मन्त्रालय किन स्थापना गर्यो ? मन्त्रालयको काम के हो ? मन्त्रालयमा कर्मचारी किन राखियो ? जस्ता प्र्रश्नले आम नागरिकको मन छटपटाएको छ । सरकार एक्लैले सबै काम गर्न सक्ने वा सबै मन्त्रालय चलाउन सक्ने भए मन्त्री किन चाहियो ? मन्त्रालय किन चाहियो ? बजार व्यवस्थापनका लागि उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छ । त्यो मन्त्रालयमा मन्त्री पनि छन्, कर्मचारी पनि छन् तर तिनको काम के हो ? थाहा छैन ।दिनमा दुगुना रातमा चार गुना बजार भाउ बढेको छ । यसप्रति मन्त्रालयको ध्यान गएको छैन । निम्न स्तर र निम्नवर्गीय परिवारलाई आफ्नो दैनिकी कसरी चलाउने भन्ने चिन्ता छ । हुने खानेलाई यो समस्या नहोला तर हुँदा खानेले जीवन कसरी चलाउने ? तीन तहको सरकार छ तर जनतालाई सरकार हुनुको अर्थ सार्थक हुन सकेन । देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ । जनता स्वतन्त्र छन् भनिन्छ तर जनताको आवाज सरकारसम्म पुगेको छैन । एउटा जालोमा रमाएको नेताले त्यो जालोभन्दा बाहिर के छ भनेर हेर्ने प्रयास गर्दैन ।
समस्याको जड यहीँनेर छ । बजार भाउ के छ ? मन्त्रालयलाई थाहा छैन । एक दिन समचारमा आयो भने बजार अनुगमन भनेर निक्लछन्, त्यो पनि व्यापारीलाई खबर गरेर । त्यसरी गरेर गरेको अनुगमनले के अर्थ राख्ला ? पेट्रोलियम पदार्थको भाउले आकाश छोएको छ । पेट्रोलियम पदार्थको भाउसँगै अन्य दैनिक उपभोग्य वस्तुको भाउले पनि आकाश छोएको छ । एक लिटर खाने तेलमा सय प्रतिशतसम्म भाउ बढाएका छन् । साना व्यापारीले सानै तरिकाले लुटेका छन्, ठूला व्यापारीले ठूलै तरिकाले उपभोक्तालाई लुटेका छन् । बजार अनुगमन गर्ने निकाय वाणिज्य विभाग मस्त निदाएको छ । कर्मचारीलाई ।।।सरकारी काम कहिले जाला घाम’ भनेजस्तो तलब भत्ता पकाउन पाए भइहाल्यो । यसरी कहिलेसम्म चल्ने हो ? सर्वसाधारण जनताको आवाज कसले सुन्ने ? कसले बोल्ने ? जनप्रतिनिधिले अब पनि जनताका आवाज बुलन्द पार्दैनन् भने अब निर्वाचनमा मतको आशा नगरे हुन्छ । एमालेको गैरसंसदीय चरित्रकै कारण संसद् बन्धक छ । उसैको ठूलो स्वर छ, निर्वाचनमा बहुमत ल्याउने रे ? जनताका आवाज मुखरित गर्नुपर्ने संसद्लाई बन्धक बनाएर जनताको नाम लिन शरम लाग्दैन ? आजको गोरखापत्र दैनिकबाट