काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित सक्रियता बढेको छ । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भइरहेका छन् ।
शीर्ष नेताका साथै पार्टीका अन्य नेतासमेत निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि हुँदैछन् । निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ । मनोनयन दर्तादेखि फिर्ता, मतदानलगायतका कार्यक्रम सार्वजनिक भएसँगै नेताहरूको दौडधूप बढेको हो ।
प्रमुख प्रतिपक्षी एमाले उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टीको सचिवालय बैठकबाट उम्मेदवार छनोटको मापदण्ड तोकिएसँगै स्थानीय तहमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु भएको एमालेले जनाएको छ ।
एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उम्मेवाद छनोटका लागि सोही तहको कमिटीबाट तीन जनाको सिफारिस हुनेछ । वडा र सदस्यको उम्मेवादर जिल्ला कमिटीले टुंगो लगाउनेछ । पालिकाको अध्यक्ष एवं मेयरको उम्मेवार प्रदेश कमिटीले टुंगो लगाउने जिम्मेवारी पाएको प्रवक्ता गुरुङले बताए ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा सत्तारूढ नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा छन् । शनिबार सिन्धुली पुगेका प्रचण्डले यसअघि लुम्बिनी, मधेस प्रदेशका विभिन्न जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गणेश साह स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउँदै प्रदेश स्तरको प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।
नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा कमान्डर परिचालन गरेको छ । एकीकृत समाजवादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियानमा होमिएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधारा, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झा पार्टीले परिचालन गरेको छ ।आजको राजधानी दैनिकबाट