Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय चुनाव आचारसंहिताप्रति जनप्रतिनिधिको मिश्रित प्रतिक्रिया, सच्याउन माग


    शुक्रबार, चैत्र ४ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले बनाएको आचारसंहिताप्रति स्थानीय तहका जनप्रतिनिधिले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले यो मापदण्ड कानुनविपरीत रहेको बताएका छन् भने केही जनप्रतिनिधिले यो सही भएको बताएका छन् ।

    आचारसंहिताको यो मापदण्डलाई सच्याउन केही जनप्रतिनिधिले माग गरेका छन् ।

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन लड्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको थियो । आयोगले यस्तो मापदण्ड बनाएपछि प्रतिक्रिया दिंदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यस्तो मापदण्ड बनाउने हो भने संघीय र प्रदेश निर्वाचनमा पनि लागू गर्नुपर्ने बताए । ‘तीन तहको निर्वाचनमा विभेदकारी मापदण्ड हुनुहुँदैन, यसलाई सच्याउनुपर्छ’, उनले भने।

    तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले भने यो मापदण्ड सही रहेको प्रतिक्रिया दिए । ‘यसले पदमा रहेर मतदातालाई प्रभावित पार्न सक्ने प्रवृत्ति रोक्छ, त्यसैले आचारसंहिताको यो मापदण्ड सही छ’, उनले भने ।

    सिद्धार्थ नगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले भने निर्वाचन आयोगले बनाएको आचारसंहिता कानुनसँग बाझिएको बताए । कानुनले जनप्रतिनिधिविहीन स्थानीय तह परिकल्पना नगरेकाले आचारसंहिता कानुनविपरीत रहेको अधिकारीको भनाइ छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले भने आचारसंहिता आयोगले आफ्नो विवेकसम्मत ढंगले बनाएकाले टिप्पणी गर्नुको अर्थ नरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार