काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसिसी परियोजनाका बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् ।
सोमबार देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको बताएकाे बताउँदै एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै रावलप्रति आक्रोश व्यक्त गरेका थिए ।
तर तेसकाे खण्डन गर्दै रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरेका हुन् ।
‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन’ रावलले ट्विटरमार्फत जवाफ दिएका छन् ।
नेता रावलले प्रधानमन्त्रीले आफूमाथि तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न आग्रह गरेका छन् । ‘देशको प्रधानमन्त्रीले प्रयोग गरेका तुच्छ शब्दहरु लोकतन्त्रमा त्याज्य भएकोतर्फ ध्यान दिए तपाईंको पदीय मर्यादा कायम रहला’ रावलले भनेका छन् ।
उनले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिएका छन् ।
प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ, तथ्य हेरौं : pic.twitter.com/7aoA854K9I
— Dr. Bhim Rawal (@BhimRawal179) March 14, 2022