विराटनगर । उच्च अदालत विराटनगरले आज धरानको चतराधाममा बस्ने सिद्धबाबाको नामले चिनिने कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ गर्ने भएको छ ।
५ नम्बर इजलासमा आज मुद्दाको सुनुवाइ हुने अदालतले जनाएको छ । सिद्धबाबा विरुद्ध २०७७ साल चैत २६ गते उच्च अदालतमा मुद्दा परेको थियो ।
सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ। तर, सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी हुन् ।
सिद्धबाबाले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचर्य तोडिदिएको भन्दै सफाइको मागसहित अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ ।
सोलुखुम्बु घर भई सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने सिद्धबाबाआफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्दै आएका छन् । तर, उनै धर्मगुरुले आफूलाई बलात्कार गरेको भन्दै एक २६ वर्षीय अनुयायीले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेकी थिइन् । कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई अनुचित प्रभावमा पारी मोहित बनाएर बलात्कार गरेको ती महिलाको आरोप छ ।
त्यस घटनाको विरुद्धमा २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो । अदालतले २०७७ मङ्सिर २२ गते फैसला सुनाएको थियो ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले २०७७ साल मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबाले राजीखुशीमै महिलासँग यौनसम्बन्ध राखेको उल्लेख छ । जिल्ला अदालतको फैसलाले करणी पुष्टि गरेको छ ।
तर, पीडित महिला धर्मगुरुको शरणमा परेको अवस्थामा आफूलाई अनुचित प्रभावमा पारेर करणी गरिएको हुनाले बलात्कारको आरोपमा सिद्धबाबालाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै उच्च अदालतको शरणमा पुगेकी हुन् । आज उच्च अदालतले कस्तो फैसला गर्छ, त्यो पर्खाइको विषय बनेको छ।