जनकपुरधाम । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका छन् ।
कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए ।
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार एउटा किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको हाे ।
चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
उनीमाथि प्रहार गरिएकाे पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको स्राेतले बताएकाे छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।