जनकपुरधाम, ३ चैत । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयामा मृतकका परिवारले राहत स्वरुप तीन लाख रुपैयाँ पाउने भएका छन् । विषाक्त मदिरा सेवनबाट मृत्यु भएको परिवारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राहत जनही ३ लाख रुपैयाँको दरले राहत रकम उपलब्ध गराउने जानकारी दिएसँगै मृतक परिवारले राहत पाउने भएका हुन् ।
रमदैया गाउँमा विशाक्त मदिरा सेवनबाट एक दर्जन बढीको मृत्यु भइसकेको छ । खुला विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने भन्दै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए ।
उनले प्रदेश सरकारले चाँडै प्रदेश २ लाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा रहेको बताए। मुख्यमन्त्रीसँगै रमदैया पुगेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सोमबारै सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रण सम्बन्धी ठोस निर्णय लिइने बताए ।
धनुषाको रमदैया र जनकपुधाममा खुला रक्सीका कारण झण्डै दुई दर्जन व्यक्तिको ज्यान गइसकेको छ । प्रशासनले भने नौ जनाको मात्रै रक्सीका कारण मृत्यु भएको र अरुको अन्य रोगका कारण मृत्यु भएको जनाएको छ ।