Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्योग परिसंघ भन्छ- एमसीसी अनुमोदन नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण छ


    सोमबार, फाल्गुन १६ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभामार्फत अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव अनुमोदन गरेकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । संसदीय अनुमोदनसँगै तोकिएको अवधिमा सम्झौता बमोजिका आयोजना कार्यान्वयन भइ नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने संघको बुझाइ छ ।

    संघले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी सम्झौता संसदीय अनुमोदनसँगै नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिन र विश्वास अभिवृद्धिमा टेवा पुग्ने विश्वास छ । एमसीसी कम्प्याक्टमा उल्लेख भए बमोजिम आयोजना कार्यान्वयन प्रारम्भ भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने प्रावधान नेपालको विकास व्यवस्थापनका लागि नमूना सावित हुनेछ ।’

    विकास आयोजना सुरु हुने तर कहिल्यै सम्पन्न नहुने अवस्थाको अन्त्यका लागि एमसीसी अन्तर्गतका आयोजनाले भूमिका खेल्ने विश्वास लिएको परिसंघले जनाएको छ । यसका लागि मिलेयिनम च्यालेन्ज अकाउन्ट नेपाललाई सम्पूर्ण सरोकारवाला निकायसँगको समन्वयमा समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न परिसंघले आग्रह गरेको छ । 

    एमसीसी सहयोगअन्तर्गत निर्माण हुने ४०० केभी क्षमताका लप्सीफेदी–रातामाटे, रातामाटे–हेटौँडा, रातामाटे–दमौली–बुटवाल प्रसारण लाइन र सबस्टेसन नेपालको आन्तरिक विद्युत प्रसारण प्रणालीको सुधार र अन्तरदेशीय विद्युत व्यापारका लागि महत्वपूर्ण छ । साथै, पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु–दाङ खण्डको स्तरोन्नति त्यस क्षेत्रको आर्थिक विकास, व्यापार सहजीकरण र जीवनस्तर सुधारका लागि महत्वपूर्ण हुने जनाएको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘नेपालको आर्थिक पुनरोत्थान, विकासशील राष्ट्रमा स्तरोन्नतिको लक्ष्यप्राप्ति र मध्यम आय भएका मुलुकहरुमा स्तरोन्नतिका लागि आवश्यक स्रोत परिचालनका लागि एमसीसीजस्ता परियोजनाको सफल कार्यान्वयनमा जोड दिन चाहन्छौँ ।’

    सम्झौताको संसदीय अनुमोदनसँगै आयोजना कार्यान्वयनको बाटो खुलेको र यसका लागि सम्पूर्ण सरोकारवाला निकाय र प्रभावित क्षेत्रका बासिन्दालाई विश्वासमा लिएर काम अघि बढाउन नेपाल सरकार, सम्बन्धित प्रदेश एवं स्थानी तह र एमसिए नेपाललाई परिसंघले आग्रह गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार