काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ ।
वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटा बढी रहेको विभागले जनाएको छ । गत वर्ष ठगिएको जनाउँदै २ सय २४ वटा उजुरी परेकोमा चालू आवमा सो बढेर ३ सय ३८ पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए ।
माघसम्म २० करोड रुपैयाँको दाबी गर्दै उजुरी परेका ३८ वटा मुद्दा अदालतमा दायर भएकोमा अदालतले पाँच करोड ८० लाख १३ हजार १ सय ८७ रुपैयाँ बराबर विगो दाबी कायम गरेको छ । यो अवधिमा ६३ उजुरीमा मिलापत्र हँुदा चार करोड ९२ लाख ८३ हजार ६ सय ८५ युवाले पैसा फिर्ता पाएका छन् । विभागले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढेको जनाएको छ ।
सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ । सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि चालू आर्थिक वर्षको सात महिनामा व्यक्तिगत ६ लाख २९ हजार रुपैयाँले बढेको उजुरी विभागमा दर्ता भएको छ ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्ने र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढन थालेको विभागले जनाएको छ । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समूह बनाएर गिरोहको रूपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनीभित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।
संस्थागत रूपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएको लगायतका उजुरी पर्ने गरेका छन् । सम्झौतामा खान र बस्नका लागि व्यवस्था भएको भनिएकोमा सोका लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगी हुने गरेको छ । ठगीको उजुरी सम्बन्धमा विभागले क्षतिपूर्तिको कारबाही गर्ने गरेको भए पनि उजुरीका घटनामा भने कमी आएको छैन । वैदेशिक रोजगारीको ठगीमा वृद्धि भएकाले नियन्त्रणात्मक उपाय खोजी गर्ने र समयमा जाहेरी फरफारक गर्नुपर्ने विज्ञको भनाइ छ । आजको कारोवार दैनिकबाट