Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक गाग्री पानी भर्न एक घण्टा


    बिहिबार, माघ २७ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • देउखुरी । ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ घोराही उपमहानगरपालिका–१९ खोलीगाउँका महिलाको। 

    एक गाग्री पानी लिन हरेक दिन उकालो–ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरूको बिहानभरको समय त्यतै बित्ने गरेको छ।

    एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन्।

    घोराही बजारबाट बढीमा नौ किलोमिटरको दूरीमा रहेको विकट क्षेत्र खोलीगाउँ पानी नपाएर छट्पटिएको छ। सहज रूपमा पानी पाउन सकिँदैन।

    ‘सानो धारो आउँछ, दुई दिनमा एक दिनमात्रै पानी आउँछ। एक दिन पानीको जोहो गर्न सकिएन भने खानेपानीको समस्या हुन्छ’, खोलीगाँउकी लक्ष्मी घर्तीले भनिन्।

    पानी नुहँदा बालबालिकाले नुहाउन पाएका छैनन्, सरसफाइमा  पनि बाधा पुगेको छ।

    गाईवस्तुलाई खुवाउनु र तरकारी खेती गर्नु परको कुरा भएको छ। व्यवस्था फेरिए पनि अवस्था फेरिएको छैन। गाउँबासीले डोकोमा एक घण्टा ठाडो उकालोबाट पानी बोकेरै दैनिक गुजारा चलाउनु परेको उनले बताए।

    सिमको संकलित पानीले यहाँका गाउँलेले दैनिक गुजारा गर्दै आएका छन्। एक गाग्री पानी भर्न एक घण्टा लाग्छ। त्यहाँ खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा र सहज बाटोघाटो  पनि छैन।

    ‘गाउँमा विद्यालय छैन, बालबालिकालाई सहज रूपमा विद्यालय पठाउन कठिन छ’, स्थानीय विपना पुन मगरले भनिन्।

    पानी आाउन छाड्यो भने मुहानसम्म पुग्नै एक दिन लाग्छ। जसोतसो ल्याएको पानी मुस्किलले तीन घण्टा आउँछ तर त्यो पानी पनि आलोपालो भर्नुपर्ने बाध्यता छ।

    गाउँमा पानीको पीडा भोग्दै आएका यहाँका धेरै बासिन्दाकोे दैनिक गुजाराका लागि पानीकै समस्या  छ। वर्षौंदेखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै कति नाम्लोका डोरी चुडिए, कति डोका फाटे तर पानी सहज हुनसकेको छैन।

    एक गाग्री पानी लिएर घर पुग्दा सबैलाई ठूलै युद्ध जितेजस्तै हुन्छ।  

    खोली गाउँका सुकमती पुन गरुले तीन घण्टा समय खर्चेर गाग्रीमा पानी लिएर आउने गरेको बताइन्। खोलीगाउँका सबैले पुस्तौंदेखि खानेपानीका लागि यसरी नै संघर्ष गर्दै आएका छन्।

    घरमा साना नानी छन्, घरको काम हतार-हतार सकेर पानी लिन धारोमा पुग्नुपर्छ। ढिलो गयो भने धारो सुक्छ, दुई दिनसम्म पानी भर्न पाइँदैन।

    स्थानीयबासीले जनश्रमदान गरेर बनाएको पानीको स्रोत विसं २०७२ को भूकम्पले धक्का दिएपछि मूलबाट पानी आउन छोडेको छ।

    बिहान–बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको छ।

    पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छौं भने पनि आफूहरूले कतैबाट सहयोग नपाएको उनले गुनासो गरिन्।

    पानी नभएकै कारण महिनौं दिनसम्म नुहाउन पनि नपाएको त्यहाँका बासिन्दाले बताए।

    यस क्षेत्र सदियौंदेखि बसेको बस्ती हो। यहाँको आयआर्जनको स्रोत खास केही छैन। अन्न बाली लगाए जङ्गली जनावरले सखाप पारिदिन्छ। अदुवा, बेसार मुस्किलले उब्जन्छ। त्यही बेचेर चामल किनेर खानुपर्ने अवस्था रहेको अर्का स्थानीयबासी देवबहादुर पुनले बताए।

    बलिया र जवान युवामध्ये कोही कामको खोजीमा सहर पसेका छन्  भने कोही भारत पुगेका छन्।

    उनीहरूले कमाएर पठाउने पैसाले खाने, बालबच्चा तथा परिवारको लालनपालन, शिक्षादिक्षा, उपचार खर्च चलाउने गरिएको र अन्य आधारभूत सुविधा नपाएको स्थानीयबासीको दुःखेसो थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार