Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पनौती मकर मेला स्नान गर्नेको घुइँचो, यस्तो छ किंवदन्ती


    मंगलबार, माघ २५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक दृष्टिकोणले पवित्र तीर्थस्थलको रूपमा चिनिने पनौतीमा प्रत्येक १२ वर्षको समयको अन्तरमा सूर्य मकर राशिमा पर्ने बखत मकर मेला अर्थात् कुम्भ मेला स्नान लाग्ने गर्दछ । माघ महिनाको अन्तिम साता पनौती मकर मेला स्नान गर्न भक्तजनको अत्यन्त घुइँचो देखियो ।

    जो मानिस रोशी र पुण्यवती नदीको पानी आफ्नो हत्केलामा राखी गुरु गोरखनाथमा अर्पण गर्न जान्छ, त्यस मनुष्यले चिताएको मनकामना, इच्छासिद्धि पूरा हुन्छ  भन्ने धार्मिक आस्थासमेत रहिआएको छ ।

    जसले मकर मेला स्नान गर्दछ, त्यस मनुष्यको शरीरमा भएको रोग पखालिन्छ, मनमा भएको खोट, पाप नाश हुन्छ भन्ने पौराणिक कथन छ । 
    हिन्दुशास्त्रका अनुसार सत्ययुगमा जब देवराज इन्द्रलाई शरीरमा श्राप जन्य रोग लागेको थियो, त्यस बखतमा पनौती उपासनाबाटै निको पारेका थिए भन्ने किम्बदन्ती छ। 

    आजभन्दा धेरै वर्षअघि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेका बेला बखतमा, त्यस्तो अवस्थाबाट अत्यन्त चिन्तित भएर पनौतीका राजा दिर्गरथ र काठमाडौंका राजा सत्यवर पानी वरदान माग्न फूलचोकी देवीको दर्शन गर्न गए । त्यहाँबाट फर्केपछि खडेरीबाट मुक्त हुन दुवै देशका राजालाई फूलचोकी देवीले सपनामा सुन र चाँदीको फूल चढाउन ल्याउनू भन्ने आदेश दिइन् । 

    काठमाडौंका राजा भने आफ्नो देशमा प्रशस्त कालीगढहरू हुनाले अत्यन्त खुसी भए र सुन जुटाउनतर्फ लागे । पनौतीका राजा दिर्गरथ कालिगढहरूको अभावमा चिन्तित देखिए । सुन र चाँदी नभएकाले तोरी र फूलको माला चढाउन उनका मन्त्री, भाइभारदारहरूले सल्लाह दिए ।

    सल्लाहअनुसार उनले सुन र चाँदीको फूलको सट्टा तोरी र मुलाको फूल फूलचोकी देवीलाई चढाए । आफूसँग कालिगढहरु नभएका कारण सुनचाँदीको सट्टा फूल चढाउनु बाध्य भएको भनेर उनले देवीसामु फूल प्रस्तुत गरी बिन्ती गरी क्षमा मागेर। उनको भक्ति देखेर फूलचोकी देवी अन्यन्त प्रसन्न भएर रुद्रावती रोशी नदीमा पानी पठाइदिइन्। 

    केही समयपछि काठमाडौंका राजा सुन र चाँदीको फूल लिएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए। त्यो देखेर उनले आफूलाई पनि वरदान मिल्नुपर्ने प्रार्थना गरे । त्यसपछि फूलचोकी देवी प्रसन्न भएर आधा नदी त्यसतर्फ पठाइदिन्, जुन नदीलाई तत्कालीन समयमा गोदावरीका नामले चिनिन्छ। 

    त्यही किंवदन्तीका कारण पनौती त्रिवेणी र गोदावरीमा ६-६ वर्षको अन्तरमा, गोदावरीमा श्रावण महिनाभरि र पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर १२ वर्षे मेला लाग्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार