Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सयकडा ३ ब्याजले उठिबास, ससुरालीसँग एजेन्टको भरपर्दा गयो घरबार


    आइतबार, माघ १६ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • जनकपुरधाम । ७२ वर्षीय गंगाधर सदाको आँखामा आँसु टलपलाएका थिए। आँगनमा उभिएर माटोको झोपडी नियाल्दै थिए। ‘अब यो घर केही दिनका लागि मात्रै बस्ने ठेगाना हो’, उनले सानो स्वरमा भने। 

    किन त ? 
    धन कमाउन विदेश जाने छोराको चाहनाले बुढेसकालमा उनको यो बास खोसिएको छ। घर र घडेरी साहूलाई जिम्मा लगाउनुपर्ने भएको छ। हजुरबुबा र बुबा यही घर–घडेरीमा बसेका थिए। गंगाधर पनि यहीं हुर्किए। तीन छोरा हुर्काए। वर्षात्का बेला कैयन् चोटी घर भत्कियो। लिपे, टाले। खरको छानो थियो। जस्ता हाले। तर, धनुषाको नगराइन नगरपालिका–२ का गंगाधरको परिवार अहिले घर न घाटको भएको छ।

    ‘छोराछोरीले बुबाआमा र परिवारको कुरा नसुनेपछि यस्तै दशा लाग्छ,’ उनले भावुक हुँदै भने, ‘मैले भनेको थिएँ, आफ्नै गाउँघरमा मेहनत गर। यहीँ कमाउन सकिन्छ। तर, बढी लोभमा पर्दा आज न घर बच्यो न त घडेरी नै।’ 

    सयकडा ३ प्रतिशत ब्याजले झन्डै डेढ लाख ऋण
    परिवारको गुजारा जसोतसो धानिरहेको थियो। माइला छोरा ३० वर्षीय विष्णुदेवले चार वर्षअघि वैदेशिक रोजगारीमा जाने इच्छा व्यक्त गरे। एजेन्टको सम्पर्कमा पुगे। पासपोर्ट बनाए। गाउँकै साहूहरूबाट ३ रुपैयाँ सयकडा ब्याजमा १ लाख ४० हजार ऋण लिए। त्यो पैसा एजेन्टलाई बुझाए। तर, विदेश उड्नै पाएनन्। काठमाडौंमा अलपत्र छाडेर भागेका एजेन्ट अझै सम्पर्कमा आएका छैनन्। त्यही बेलाको ऋणले परिवारलाई सताइरहेको छ।

    ससुरालीबाट एजेन्टसँग भेट
    विष्णुदेवको बिहे धनुषाकै सुगामधुकरहीमा भयो। उनलाई रक्सीको लत थियो। ससुराली जाँदा दुई साला राजिन्द्र र त्रिदेवका साथ भट्टीमा जान्थे। राजिन्द्र र त्रिदेव तीन वर्ष साउदी अबरमा काम गरेर फर्किएका हुन्। दुई भाइको कमाइले ससुराली परिवारमा आर्थिक उन्नति भएको थियो। यसबारे विष्णुदेव जानकार नहुने कुरै रहेन।

    उनी गाउँमा रोजगारी नपाएर रक्सीको लतमा लागेका थिए। जसलाई सालोहरूले विदेश गएर धन कमाउन सुझाव दिए। ‘उनीहरूले नै एजेन्टलाई पनि भेटाइदिएका हुन्’, विष्णुदेवले भने। एजेन्ट भनिएका भडरियाका मिथिला यादव सोही भट्टीमा आउँथे।

    एजेन्ट यादवले सुरु–सुरुमा त विष्णुदेवले खाएको रक्सीको पैसा पनि तिरिदिए। ‘मलेसियामा लेबरको काममा पठाइदिने भने। त्यहाँ तलब ३० हजार कम्पनीले दिने र खान बस्न पनि छुट्टै दिने भन्यो। त्यसैले मलाई विदेश जान रहर लाग्यो।’ विष्णुदेवले भने, ‘दुई महिनासम्म मेरो घर ओहोरदोहोर गथ्र्यो। उसको कुरामा विश्वास लागेरै पैसा दिएँ।’ एजेन्ट यादवले पहिला पासपोर्ट बनाउन भने। जसका लागि १० हजार रुपैयाँ ऋण लिए। त्यसपछि जनकपुरमै एजेन्टले स्वास्थ्य परीक्षण पनि गराए। 

    ‘यसलाई त मेडिकलले नै फेल भनेको थियो। तर, त्यो एजेन्टको कुरामा लागेर ऋण उठाई सबै पैसा उसलाई बुझायो,’ बुवा गंगाधरले भने, ‘मैले धेरै रोकेको थिएँ। एकै पटकमा सबै पैसा नदिन भनें। तर, यसले लुकाएर दियो। आज कर्जा सधाउने बेला सब मेरो टाउकोमा थुपारेको छ।’

    विष्णुदेवले पैसा एजेन्ट यादवलाई उनको घर भडरियामै गएर दिए। त्यस बेला दुई सालो र केही स्थानीयवासी ‘देखिजान्ने’ थिए। तर, कुनै कागजपत्र गरेनन्।

    जब एजेन्टको फोन अफ भयो… 
    पैसा दिएको भोलि पल्टै एजेन्टले विष्णुदेव र अन्य दुई युवकको पासपोर्ट आफूसँग राखेर काठमाडौं लगे। काठमाडौं गएको दुई दिनपछि विदेश उडाउने आश्वासन यादवले दिएका थिए। काठमाडौंमा सिनामंगलको एउटा होटलमा विष्णुदेव र उनीसँगै आएका अर्को गाउँका दुईजनालाई राखेर एजेन्ट अर्को कोठामा बसे। दुई दिनसम्म सबै ठीक थियो। तर, जुन दिन विदेश उडाउने कुरा थियो त्यो दिन एजेन्ट यादव कोठा छाडेर फरार भयो। 

    ‘हामी २२ दिन त्यही लजमा बस्यौं। एजेन्टले फोन अफ गरेको थियो। ऊसँग सम्पर्क नै भएन। आफूसँग भएको ७–८ हजार रुपैयाँ पनि सक्यो। पछि खानसमेत पैसा नहुँदा शरीरमा लगाएको लुगा छाडेर अन्य सबै सामान खोस्यो। हामीलाई लजबाट निकालिदियो’, विष्णुदेवले भने, ‘भौतारिँदै गौशाला पुगेँ। त्यहाँ एक जना बसवालालाई निकै अनुनयविनय गरेपछि सित्तैमा जनकपुर ल्याइदियो।’ विदेश जान्छु भनेर ऋणकै पैसाबाट राम्रो लुगाहरू, स्विटर र ज्याकेट पनि किनेका थिए उनले। तर, लजवालाले सबै राखेको उनले सुनाए। भने, ‘त्यहाँदेखि अहिलेसम्म बाक्लो लुगा पनि किन्न सकेको छैन।’

    पासपोर्ट र पैसा लिएर भागेका एजेन्ट यादव सम्पर्कमा आएका छैनन्। विष्णुदेव प्रत्येक महिना भडरिया गएर यादवको पत्ता लगाउने प्रयास गर्छन्। ‘उसको घरका मान्छेहरू ऊ विदेश गइसक्यो भनेर जवाफ दिन्छन्। सोध्न जाँदा उल्टै हप्काउँछन्। गाली गर्छन्। उसको कुनै अत्तोपत्तोनै छैन,’ विष्णुदेवले भने। 

    ब्याजको स्याज, स्याजको ब्याज
    ठगिएपछि ऋण बढ्दै गयो। ब्याजको स्याज र स्याजको ब्याज गरी रकम असुल्न खोजे। ब्याज बढ्दै गएपछि अन्तमा गंगाधरले आफूसँग भएको १० धुर घडेरी बेचेका छन्। दुई–तीन वर्षसम्म त अर्काको जग्गामा मजदुरीबापत पाएको धान र गहुँ बिक्री गरी ब्याज तिरे। तर, ब्याज धेरै बढी भयो। एजेन्टलाई दिने पैसाबाहेक पनि ऋण लिएका छन्। सबै साहू आएर पैसा माग्न थालेपछि यो घडेरी बिक्री गर्नुपरेको हो। 

    ‘अहिले पूरै पैसा नपाएकाले घर छाडेको छैन, पूरै पैसा आएपछि त्यसबाट केहीले ऋण चुक्ता गर्छु र केही बचाएर गाउँभन्दा बाहिर थोरै जग्गा किनेर फेरि अर्को झुपडी बनाउँछु,’ गंगाधरले भने। एजेन्ट यादवले पैसा ठगी गरेको कुनै प्रमाण नहुँदा उजुरी दिन नसकेको छिमेकी मनिचन्द्र सदाले बताए। ‘मुसहर जाति हो पढेलेखेका हुँदैनन्। हामीलाई के बिगार्छन् र भनेर नै ठगेको हो,’ मनिचन्द्रले भने, ‘एउटाको गल्तीले पूरा परिवार सडकमा आएको छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट साभार 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार