Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दबाबमा देउवा, तनावमा पौडेल, दोधारमा सिटौला


    आइतबार, चैत्र २ २०७६
    600
    Shares
  • ८ मिनेट पाठ
  • काठमाडौं, २ चैत । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४ औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका साथ अघि बढिरहेका बेला उनीहरूमाथि निकटबाटै पार्टी नेतृत्व अरुलाई हस्तान्तरण गर्न दबाब बढ्न थालेको हो । 

    चार वर्षअघि भएको १३औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका देउवाले पूर्वप्रतिबद्धता अनुसार संगठन सञ्चालन गर्न नसकेको भन्दै निकटहरू नै असन्तुष्ट छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछिका दिनमा देउवाको छविलाई लिएर पार्टीभित्र र बाहिर प्रश्न उठिरहेको छ । १३औं महाधिवेशनअघि जस्तो पार्टीभित्र र बाहिरको वातावरण देउवा अनुकूल नरहेको भन्दै उनलाई आफ्नै निकटले पुनः सभापतिको प्रत्यासी नबन्न सुझाउन थालेका छन् ।

    केन्द्रीय सदस्य रमेश रिजालले देउवालाई भेटेर परिस्थिति अनुकूल नभएको बताएको स्रोतको दाबी छ । रिजाल देउवा निकट मानिन्छन्। गत माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न प्रदेश नम्बर २ का केन्द्रीय सदस्यहरूको छलफलका क्रममा रिजालले १३औं महाधिवेशनमा जस्तो अनुकूल अवस्था नभएको भन्दै देउवालाई पुनः उम्मेदवार नबन्न सुझाएको स्रोतको दाबी छ । रिजालले मात्र नभएर निकट अन्य नेताले पनि देउवालाई पुनः प्रत्यासी बन्ने निर्णयमा पुगिनहाल्न सुझाएको स्रोत बताउँछ ।
    केन्द्रीय सदस्य मीन विश्वकर्मा भने देउवाले नै १४औं महाधिवेशनमा पनि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताउँछन् । देउवा निकट उनले भने, ‘वर्तमान सभापतिले नै आगामी नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुहुन्छ ।’
    विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम कांग्रेसमा विलय भएकाले देउवाका लागि १३औं महाधिवेशनभन्दा यो महाधिवेशन नेतृत्वमा पुग्न सहज हुने निकटहरूको बुझाइ छ । ‘अहिले सभापति भएको कारणले पनि केही न केही फाइदा उहाँ ९देउवा० लाई पुग्छ नै,’ निकट एक नेताले दाबी प्रस्तुत गर्दै भने, ‘गच्छदार समूहको मात्र होइन महाधिवेशनसम्म संस्थापन इतरका केही नेता पनि देउवा क्याम्पमा आइपुग्नुहुन्छ ।’

     अघिल्लो महाधिवेशनमा देउवासँग सभापतिमा हारेका पौडेल पुनः नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। उनका लागि असन्तुष्ट पक्षबाट नेतृत्वका अन्य आकांक्षीलाई मनाएर मैदानमा एक्लो प्रत्यासी बन्ने वातावरण सिर्जना गर्नु निकै अप्ठेरो छ ।

    तर देउवाका केही निकटले उनका लागि आगामी महाधिवेशन प्रतिकूल रहेको जनाउँदै अविभावकको भूमिकामा बस्न र पत्नी आरजुलाई पदाधिकारीमा अघि सार्न सल्लाह दिएका छन् । देउवा सभापतिको उम्मेदवार नबने आरजुको चाहना महामन्त्रीको उम्मेदवार बन्ने रहेको निकटहरुले जनाउँदै आएका छन्। देउवा पुनः सभापति पदमा चुनाव लड्न नचाहे मात्र मात्र उपसभापति विमलेन्द्र निधि सभापतिको प्रतिस्पर्धामा उत्रिने पक्षमा छन्। देउवा पुनः मैदानमा खडा भए निधिले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको मात्र उम्मेदवारी दिने जनाउँदै आएका छन्। संस्थापन पक्षभित्र देउवाको विकल्पमा उपसभापति निधि र महामन्त्री पूर्णबहादुर खड्कालाई हेर्ने गरिएको छ ।

    अघिल्लो महाधिवेशनमा देउवासँग सभापतिमा हारेका पौडेल पुनः नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । १३औं महाधिवेशनको संघारमा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षबाट पौडेल सभापतिको प्रत्यासी भएका थिए । त्यसबेला कृष्णप्रसाद सिटौलाका कारण पौडेल अप्ठेरोमा परेका थिए भने अहिले पनि उनले निकटबाटै झमेला बेहोर्नुपर्ने देखिएको छ । चार वर्षअघि पार्टीको मूल नेतृत्वमा दाबी र आकांक्षा नदेखाएका महामन्त्री शशांक कोइराला र नेता शेखर कोइराला अहिले सभापतिको दौडमा देखिएका छन्। शेखरले त देउवा र पौडेलबाट अब पार्टी नचल्ने जिकिरसहित नेतृत्व परिवर्तन हुनुपर्ने बताउँदै आएका छन् ।

    उनले देउवा र पौडेल दुवैलाई विश्राम लिन सुझाउँदै जिल्ला दौडाहालाई तीव्रता दिएका छन् । महामन्त्री शशांकले गति बढाए पनि सभापतिको प्रतिस्पर्धामा पौडेल पनि भएको भन्न छुटाएका छैनन् । १३औं महाधिवेशनमा पनि आफूलाई सभापतिको आकांक्षीका रुपमा प्रस्तुत गरेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले त्यो आकांक्षा त्यागेका छैनन्। पौडेल सभापतिको उम्मेदवार नबने असन्तुष्ट पक्षबाट आफू प्रतिस्पर्धामा उत्रिने सिंहले निकटहरूसँग बताउने गरेका छन्। रामशरण महतले पनि नेतृत्वका लागि आकांक्षा प्रस्तुत गर्दै आएका छन् ।
    पौडेलका लागि असन्तुष्ट पक्षबाट नेतृत्वका अन्य आकांक्षीलाई मनाएर मैदानमा एक्लो प्रत्यासी बन्ने वातावरण सिर्जना गर्नु निकै अप्ठेरो छ । सभापति देउवाले एकपछि अर्को गर्दै पेल्दै जाँदा संस्थापन इतर पक्षलाई मिल्न दबाब परेको पौडेल निकट नेताहरूको बुझाइ छ। ‘संस्थापन इतर नमिल्दा फेरि पनि देउवा नै सभापति बन्ने सम्भावना बढ्छ,’ पौडेल पक्षका एक नेताले भने, ‘दोस्रो तहका आकांक्षीले एकले अर्कालाई स्वीकार गर्ने अवस्था नभएकाले अन्तिममा सबै असन्तुष्ट पौडेलसँग गोलबद्ध हुने अवस्था आउँछ ।’

    १३ औं महाधिवेशनको मुखमा तत्कालीन सभापति सुशील कोइरालाको निधन भएकाले मात्र कोइराला परिवारले पौडेललाई स्वीकार गरेको बताउँदै एक पुराना नेताले भने, ‘रामचन्द्रजी कोइराला परिवारसँग जोडिइरहनुभएको छ तर उहाँलाई कोइराला परिवारले स्वीकार होइन उपयोग मात्र गरेजस्तो देखिन्छ ।’ तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५८ सालमा होलेरी काण्डपछि प्रधानमन्त्रीबाट राजीनामा गर्ने जनाइसकेका बेला पौडेलले एकाएक उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएकाले उनको कोइरालासँग सम्बन्ध चिसिएको ती नेताले बताए। पौडेलले केही दिन मात्र धैर्य गरेको भए गिरिजाप्रसादपछि उनै प्रधानमन्त्री बन्ने सम्भावना थियो ।

    असन्तुष्टि जनाउँदै पौडेलले राजीनामा दिएपछि गिरिजाप्रसादले चक्रप्रसाद बाँस्तोलालाई प्रधानमन्त्री बनाउन चाहेको तर सिटौलासहितका नेताहरूले उनलाई रोकेको पनि ती नेताले सुनाए । ती नेताका अनुसार सिटौलासहितका नेताहरूले चक्रलाई नभएर सुशीललाई नै अघि सार्न गिरिजाप्रसादलाई मनाएका थिए ।
    असन्तुष्ट पक्षले १३औं महाधिवेशनमा जस्तो देउवा सभापति हुँदा पनि केही बिँग्रदैन भन्ने अवस्था अहिले नभएकाले त्यसको फाइदा पनि आफूलाई पुग्ने विश्लेषण गरेको छ । सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था विधानमा रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य कल्याण गुरुङले अहिलेकै अवस्थामा असन्तुष्ट पक्षबाट सभापतिका आकांक्षी कुनै पनि नेताले ५० प्रतिशतभन्दा बढी मत पाउने अवस्था नरहेकाले मिल्नुको विकल्प नभएको बताए । उनले भने, ‘सहमति, सहकार्य, मेलमिलाप र एकताको वातावरण निर्माण गर्ने दायित्व आकांक्षी नेताहरुको हो।’

    तत्कालीन संस्थापन पक्षबाट विद्रोह गरी १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका पूर्वमहामन्त्री सिटौलाको १४औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ अझै अझै स्पष्ट भएको छैन । आगामी महाधिवेशनमा पनि आफैं सभापतिको उम्मेदवार बन्ने बताएका सिटौला सभापति देउवा वा इतर कुन पक्षसँग निकट हुन्छन् खुल्न बाँकी छ । केही दिनअघि गृह जिल्ला झापा पुगेर सिटौलाले आफू पुनः सभापतिको प्रत्यासी बन्ने संकेत गरे पनि नेतृत्वका लागि दुईजना मात्र उम्मेदवार भए सिटौला प्रत्यासी नबन्ने निकटहरू बताउँछन् । १३औं महाधिवेशनमा देउवालाई नेतृत्वमा पु¥याउन सिटौलाले सहयोगी भूमिका निर्वाह गरेका थिए ।
    तर अहिले देउवासँग सिटौलाको सम्बन्ध पहिला जस्तो राम्रो नरहेको निकटहरू बताउँछन् ।

    नेता पौडेलसँग पनि सुमधुर सम्बन्ध नहुँदा सिटौला संस्थापनतिर लाग्ने वा इतर समूहमा सक्रिय हुने भन्नेमा दुविधामा रहेको स्रोतको दाबी छ। केन्द्रीय सदस्य गगनकुमार थापा, प्रदीप पौडेलसहितका नेताहरू देउवाबाट पार्टी चल्न नसक्ने भन्दै सिटौला, पौडेल, शशांक, सिंह, शेखर, महत, अर्जुननरसिंह केसीलाई एकै ठाउँमा उभ्याउन सक्रिय छन् । तर, सिटौला निकट नै मानिने शिव हुमागाईं, भिमसेनदास प्रधानसहितका नेता विपक्षमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामपछि सिटौला निकट नेताहरूले सभापति देउवालाई हेर्ने दृष्टिकोणमा फरक आएको हो। संसदीय दलको नेता चयनका लागि भएको मतदानमा सिटौला निकट सांसदको मत विभाजित भएको नेताहरू बताउँछन् । नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार