काठमाडौंं, ३० फागुन । पुर्वराजा ज्ञानेन्द्र शाह फेरि झापा जाने भएका छन् । चार दिनअघि राजावादी निकट तीन राप्रपालाई एकता गराउन सफल भूमिका खेलेका ज्ञानेन्द्र थप रणनीति बनाउन झापा जान लागेका हुन् । उनी चैत २ गते बिहान भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ । झापामै नयाँबर्ष मनाउने र राजावादीसँग थप कुराकानी तयारी भएको स्रोतले जनाएको छ ।
करिब एक महिना बसाइका क्रममा उनले राप्रपाका नेता र पूर्वराजावादीसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । ज्ञानेन्द्रसँगै पूर्वरानी कोमल, निजी सचिव सागर तिमिल्सना र निजी अंगरक्षक सशस्त्रका डिएसपी राजन गुरागाई झापा पुग्ने कार्यक्रम छ ।
निर्मलनिवास स्रोतका अनुसार अघिल्लो पटक झापामा एकान्तबास गरेका उनले यो भ्रमणमा अधिकांश पूर्वराजावादीसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाको बन्दोबस्तीका लागि सुरक्षासहित र, सवारी चलाउने टोली हिजो बिहीबार झापा पुगिसकेको छ । यसअघि दुईसाता लामो भारत भ्रमणमा रहदा नयाँ डिल्ली र अमृतशहर स्थित शिखहरुको पवित्र तीर्थस्थल स्वर्ण मन्दीर दर्शन गर्न गरेका थिए ।
पूर्वरानी कोमलको फागुन ७ गतेको जन्मोत्सव पारेर पंजावको अमृतसर पुगेका ज्ञानेन्द्र परिवारले स्वर्ण मन्दिरको दर्शन गरेका थिए । त्यसबेला ज्ञानेन्द्रको साथमा पत्नी कोमल, बहिनी शोभा शाही, ज्वाई मोहनबहादुर शाही, ज्ञानेन्द्रका साला उदयशमशेर राणा र उनकी धर्मपत्नी रोशनी राणा, निजी सचिव सागर तिमल्सिना र निजी अंगरक्षक सशस्त्रका डिएसपी राजेन्द्र गुराँगाईसहित करिब १२ जनाको टोली भारत पुगेका थिए । फागुन ४ गते भारत भ्रमणमा निस्किएका ज्ञानेन्द्र परिवारले भारतको राजधानी दिल्लीमा उच्च राजनीतिक भेटघाट गरेको स्रोतको दाबी छ ।
झापा बसाईको क्रममा पटक–पटक काठमाडौं आउँदै भारत जाने गरेका ज्ञानेन्द्रले पछिल्लो समय भारतमा उच्च राजनीतिक भेटघाट गरेका थिए ।
अधिकांश भ्रमण धर्मकर्ममा केन्द्रित भएको निर्मलनिवासले जनाए पनि सबै जसो भ्रमणमा राजनीतिका भेटघाट केन्द्रित हुने गरेको स्रोतको भनाइ छ । करिब दुई महिनाअघि झापाबाटै पश्चिम बंगाल भ्रमणमा निस्कनुभएका ज्ञानेन्द्रले करिब तीन महिना अघिदेखि झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्दै आएका छन् ।
गएको पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन काठमाडौं आएका ज्ञानेन्द्रले फागुन ७ गतेको प्रजातन्त्र दिवसको विज्ञप्ति नयाँदिल्लीबाटै सार्वजनिक गरेका थिए । यसअघि देश दौडाहाको क्रममा उनले विभिन्न तहका नेता र कार्यकर्तासंग भेट गरेका थिए । करिब ६ महिनाअघि पश्चिम नेपालको बुटवल, लुम्बिनी लगायत विभिन्न जिल्लाका मठमन्दिर भ्रमण गरी आफ्ने पक्षमा जनमत बनाएको दाबी गर्दै आएका छन् ।