काठमाडौं, ३० फागुन ।
नेपाल प्रहरीमा लेखापाल र लेखाअधिकृत हुन चलखेल हुने गरेको छ । गृहमन्त्रालयका सहसचिव, सचिवदेखि सांसद, मन्त्री, गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पहुँच पु¥याएर काठमाडौं, ललितपुरदेखि आकर्षक जिल्लामा लेखापालमा सरुवा हुने गरेको छ । कहिलेकाहीँ त आइजीपीले नै आफ्नो मानिसलाई भनेको ठाउँमा लेखापाल सरुवा गर्न गाह्रो पर्ने गरेको छ ।
लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएको समयमा तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालले नै आफूले बचन दिएका लेखापाललाई सरुवा गर्न नसकेको दृष्टान्त आर्थिक प्रशासन महाशाखामा कार्यरत पूर्व एसएसपीले लेखापालहरुको सरुवा प्रसंगमा सुनाउने गरेका छन् । लोकमानकै ३ जनाभन्दा बढीलाई उनले भनेको जिल्ला वा गणमा सरुवा गर्नुपरेकाले उनले आफूले बचन दिएका सईहरुलाई पठाउन सकेका थिएनन् । यसले प्रहरीका लेखापाल सरुवामा अख्तियार प्रमुखदेखि महालेखा परीक्षकको कार्यालयका उच्च अधिकारीसम्म पहुँच पु¥याउने गरेको देखिएको छ ।
लेखापालले काठमाडौं जस्ता जिल्लामा ठूलो कमाइ गर्ने र अरु जिल्लामा पनि कुस्त आर्जन गर्नसक्ने भएकाले सरुवामा ब्यापक पहुँच र प्रभाव प्रयोग हुँदैआएको छ । पछिल्लो पटक पूर्व आइजीपी सर्वेन्द्र खनालले पुनम चन्दलाई काठमाडौंको लेखापालमा सरुवा गरेका थिए भने त्यसअघि नेकपा नेता जनार्दन शर्माका भाइ वसन्त शर्मा लेखापाल थिए । त्यसअघि पूर्वमहालेखापरीक्षक बिष्णुबहादुर केसीका आफन्त सुरेन्द्र केसी थिए ।
उपेन्द्रकान्त अर्याल आइजीपी हुँदाखेरि नै लेखापाल सरुवाको नीति बनाइएको थियो । उनले लेखापालहरूको सरुवा र कामबारे पीसीसीबाट एउटा निर्णय गराएका थिए । एकपटक लेखापाल भएपछि जागिरे जीवनकालभर लेखापाल नै रहने परिपाटीको अन्त गर्दै मापदण्ड बनाइयो ।
पहिलो वर्ष उनले लगातार ८ वर्ष लेखापाल भएकालाई लेखापालबाट हटाउने निर्णय गरेका थिए भने दोस्रो वर्ष ६ वर्ष लेखापाल भएकाहरूलाई हटाउने निर्णय गरेका थिए । जसअनुरूप नयाँ लेखापालहरूले अवसर पाउने एकातर्फ थियो भने अर्कोतर्फ लेखापालहरूको सरुवामा क, ख, ग, घ गरी ४ श्रेणी बनाएर नियमअनुसार सरुवा गर्ने नीति थियो । यदि कोही लेखापाल बीचमा कुनै काण्ड लागेर हटेमा या विदेश गएमा या कुनै भवितव्यले खाली भएमा आलेपको रेकर्डमा जो सिनियर छ त्यसैलाई लेखापालका रूपमा खटाउने नीति थियो । त्यसले प्रहरीमा लेखापालहरूमा हुने अस्वस्थ प्रतिस्पर्धा, आर्थिक चलखेल र लेखापालका लागि मन्त्रीदेखि नेताहरूले दिने दबाब धेरै हदसम्म रोकिएको थियो । धेरै आर्थिक चलखेल गर्न पाउने, नक्कली बिल भौचर पेश गरेर भ्रष्टाचार गर्न पाइने र अडिटरलाई घुस ख्वाएर कतिपय भ्रष्टाचारजन्य कामहरू पनि हरियो मसीले हस्ताक्षर गराई सफाई पाउने जस्ता कामहरू लेखापालहरूबाट हुँदै आएका थिए । नेपाल प्रहरीका झण्डै ८० प्रतिशत लेखापालहरू यस्तै गलत काम गरेर अस्वभाविक सम्पत्ति कमाउन सफल भएका छन् ।
त्यो नीति बिरुद्ध ठाकुरप्रसाद ज्ञवाली जस्ता सज्जन मानिएका ब्यक्ति आइजीपी भएपछि हालै लेखापालको सरुवा भएको छ । संगठनको नीतिविरुद्ध धमाधम काजसरुवादेखि नयाँ लेखापालहरू खटाउने काम गरेर आइजीपी ज्ञवालीलाई नै विवादमा पार्ने काम सुरु भइसकेको छ । ज्ञवाली आइजीपी हुनेबित्तिकै सचिवालय, कर्मचारी प्रशासन र सरकारी निवासको नेतृत्व परिवर्तन गरेर स्याबासी कमाएका ज्ञवालीलाई भने हालै खटाइएको लेखापालहरूको काजसरुवाले चर्को विवादमा पारेको छ । डीआइजीबाट एआइजी बढुवामा पारदर्शीता अपनाएर उनले सकलदर्जाको मन जितेका थिए ।
तर ज्ञवालीले त्यो नीति बिपरीत सरुवा गरेका छन् । नीतिविरुद्ध नजाने र सधैँ नियम–कानुनको कुरा गर्ने आइजीपी ठाकुर ज्ञवालीलाई हालै भएका ३ वटा लेखापालहरूको काजसरुवाले विवादमा पारेको छ ।
नेपाल प्रहरीका लेखापालहरूको सबैभन्दा बढी आकर्षक ठाउँका रूपमा चिनिने काठमाडौँ परिसरमा हिमाल पोखरेललाई ल्याइएको छ । उनी महानगरीय आयुक्त कार्यालयका आयुक्त डीआइजी विश्व पोखरेलका भतिजा हुन् । लेखा तालिम लिएपछि २०७६ साउनमा दरबारमार्ग बृत्तमा लेखापालमा प्रवेश भएका सई हिमाल पोखरेल ८ महिनामै सबैभन्दा आकर्षक काठमाडौं परिसरको लेखापालमा सरुवा भएका छन् । थुनुवाको सिदादेखि अन्य खरिद, मर्मतलगायतका कारणले मासिक लाखौँ कमाइ हुने भएकै कारण काठमाडौँ परिसर लेखापालहरूको सबैभन्दा आकर्षक ठाउँका रूपमा चिनिन्छ । उनलाई २ हप्ताअघि मात्रै मुख्यालयको आलेप शाखाको सिफारिशमा प्रशासनले काजसरुवा गरेको हो ।
त्यसैगरी अर्को नीति र नियम नलाग्ने गरी नरेन्द्र देवकोटाको पनि त्यस्तै काजसरुवा गरिएको छ । नरेन्द्र देवकोटा लेखापालका रूपमा गत साउन महिनामा दैलेख जिप्रकामा सरुवा भएका थिए । गत साउनमा मात्रै सरुवा भएको लेखापाललाई यसरी बीचमा राम्रो ठाउँमा खाली भयो भन्दैमा काजसरुवा गर्न नपाइने नीति हुँदाहुँदै निजलाई अर्को भ्रष्टाचारको अखडा र लेखापालहरूको दोस्रो ठूलो आकर्षक ठाउँका रूपमा चिनिने महानगरीय ट्राफिक प्रहरी महाशाखामा काजसरुवा गरियो । नरेन्द्र देवकोटा एसएसपी श्याम ज्ञवाली रूपन्देहीको एसपी हुँदा रूपन्देहीकै लेखापाल थिए ।
श्याम ज्ञवाली आइजीपी ठाकुर ज्ञवालीका सहोदर भाइ हुन् । त्यही सम्बन्धका कारण एसएसपी ज्ञवालीले दाजुलाई नै विवादमा पार्ने गरी लेखापाल देवकोटालाई ट्राफिक महाशाखामा लेखापाल बनाएर ल्याएका छन् । त्यसैगरी उपत्यकाभित्रको अर्को आकर्षकका रूपमा चिनिने ललितपुर प्रहरी परिसरमा नीतिविरुद्ध नै लेखापाल एकराज भण्डारीलाई ल्याइएको छ । उनी पनि गत साउनमा नयाँ लेखापालका रूपमा जनकपुरस्थित २ नम्बर प्रदेशस्थित गणमा खटिएका थिए । उनलाई पनि नीतिविपरीत नै बीचैमा ललितपुर परिसरको लेखापालका रूपमा ल्याउने काम गरिएको छ । यी तीनवटा लेखापालहरूको काजसरुवा प्रहरीको पिसिसीको नीति र निर्णयविपरीत छ ।