काठमाडौं, २९ फागुन ।
राजा वीरेन्द्रको बंशनास भएको १८ बर्षपछि उनले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणको लागि खुला हुने भएको छ । नयाँ वर्षको दिन अर्थात् २०७७ साल बैशाख १ गते श्रीसदन खुला गर्न लागिएको हो ।
श्रीसदनसँगै हिट्लरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेका राजपरिवारले चढ्ने बग्गी, दीपेन्द्र, श्रुति, निराजनले चढ्ने गाडी लगायतका महत्वपूर्ण सामग्री प्रदर्शनीमा राखिने भएको छ ।
संग्रहालयले बिग्रिएका अवस्थामा रहेका सबै सवारी साधन मर्मत गरी तयारी अवस्थामा राखेको छ । सोही दिनबाट संग्रहालय प्रशासनले गणतन्त्र स्मारक परिसरको शहीदको सम्झानामा निर्माण निर्मित संग्रहालय समेत खुला गर्ने भएको छ ।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीसदन खोल्न सम्पूर्ण तयारी भैसकेको जानकारी दिनुभयो ।
बाटोको समस्या थियो, बम्बैचोक नजिकै नारायणहिटी संग्रहालयको दक्षिणतर्फका रत्न मञ्जिलसँगैबाट प्रवेश गर्ने व्यवस्था मिलाएका छौ । ‘पहिलो चरणमा श्रीसदन, सवारी साधन , वीरेन्द्र परिवारले चढ्दै आएको हेलिकप्टर र हवाइजहाज र गणतन्त्र स्मारकको संग्रहालय खुला गर्नेछौ’–दाहालले भन्नुभयो । संग्रहालय स्थापना भएको १२ वर्षपछि ती सामग्री प्रदर्शनीमा राख्न लागिएको हो ।
यसअघि बिसं २०६९ मा श्रीसदन खुला गर्ने सबै तयारी भएको थियो । करिब ३० लाख रुपैयाँ खर्च गरी श्रीसदन व्यवस्थापन गरिएको थियो । करिब २२ बटा सिसिटिभी जडान गरिसकेको छ । अहिले केही सिसिटिभी थपिएका छन् । श्रीसदनको सफाइको काम सम्पन्न भैसकेको छ– कार्यकारी निर्देशक दाहालले भन्नुभयो ।
प्रकृतिप्रेमी राजा वीरेन्द्रले आफू बस्ने भवन श्रीसदनलाई कहिल्यै रङरोगन गर्नुभएको थिएन । सिमेन्ट प्लास्टरमात्र गरिएको सो दरबार कलात्मक छ । कलात्मक प्रवेशद्वारमा ठूलो घण्ट राखिएको छ । तत्कालीन राजा महेन्द्रले छोरा वीरेन्द्रको निजी प्रयोगको लागि निर्माण गरिएको श्रीसदनमा वीरेन्द्र युवराजधिराज घोषणा गरेकै दिन श्रीसदनमा प्रवेश गर्नुभएको थियो ।
श्रीसदनमा राजा वीरेन्द्रको निजी कोठाको काठको दराजमा आफ्नो सैनिक पोशाक र बुट राखिएको छ । बाथरुममा उहाँले प्रयोग गर्ने सामग्री सजाइएको छ । स्वर्गीय रानी ऐश्वर्यको पुजाकोठामा देवताको मूर्ति सजाइएको छ । तेस्रो तलाको भ¥याङ उक्लिना साथ प्यासेजमा पूर्व अधिराजकुमारी श्रुतिले तयार पारेको पेन्टिङ छ । निराजनको कोठामा पढाइको रुटिन राखिएको छ ।
स्वर्गीय राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको सबैको बाथरुम, सिंगार कोठा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । गजलमा विशेष चाख राख्ने ऐश्वर्यको कोठामा अधिकांश हिन्दी र उर्दु भाषाका क्यासेट देखिन्छन् । उहाँको गहना राख्ने सेफ रहेको कोठामा खाली सेफ छ तर त्यहाँ रहेका गहना छैन ।
ब्यायाम कक्षमा निराजनको जिमको सामान मिलाइएर राखिएको छ । २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीले नारायणहिटी प्रशासनलाई श्रीसदन खुला गर्न निर्देशन दिनुभएको थियो । लगत्तै संग्रहालय प्रशासनले बाटो खोल्ने विषयमा तयारी गरेको थियो ।
२०६५ फागुन १५ गतेदेखि नारायणहिटी संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला गरिएको थियो । करिब ७ सय ५४ रोपनी क्षेत्रफलमा रहेको नारायणहिटी दरबार परिसरभित्र ३ सय १८ रोपनीमा मात्रै संग्रहालय रहेको छ ।
राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री रणोद्धिप शाहको पालामा निर्माण भएको नारायणहिटी दरबार बिसं १९९० सालमा भूकम्पले क्षति पु¥याएको थियो । राणा प्रधानमन्त्री वीर समशेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो ।
राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्म भएको नारायणहिटीको सबै कक्ष खुला गर्नसकेको छैन । अहिले ३१ कक्ष, श्रीपेच, राजदण्ड, राजमुकुट लगायत महत्वपूर्ण सामग्री प्रदर्शनीमा राखिएको छ ।