Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपचाररत प्रधानमन्त्रीका नाममा  


    बुधबार, फाल्गुन २८ २०७६
    1.6K
    Shares
  • ११ मिनेट पाठ
  • प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुपूर्व भिडियो सन्देशमा भन्नुभयो– ‘सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न, ढुक्क हुनुस् ।’ 

    ती केवल शब्द होइनन् । दृढ निश्चय र आत्मविश्वासयुक्त मन्त्र नै हुन् ।  प्रधानमन्त्री ओलीका तर्फबाट यो जनतालाई दिइएको ‘दिलासा’ हो, भरोसा हो र आत्मविश्वास पनि हो । सपना अलपत्र परेनन्, पर्दैनन् र पूरा हुने नै छन् ।  तर, सपना त सपना नै हुन्छ । सपना भनेको भविष्य को ‘स्केच’ पनि हो, सबैले देख्दैनन् ।

    अहिलेसम्म पनि अँध्यारोमा बस्न बाध्य भएको नेपाली समाजको रूपान्तरण गर्न उहाँको  सपनाले उज्ज्यालो छर्नेछ । डोकोमा भोजन बोकेर हिंड्नेले सडक पाउनेछ ।  ज्वरो आउँदा सिटामोल नपाउनेले पाउनेछ । रोगको दुखाई दबाएकाहरुले अस्पताल पाउनेछन् । अनुत्पादक मानी हेपिएका जेष्ठ नागरिकाले उपचार, बिमा र बेड पाउनेछन् । 

     पछाडि फर्केर हेर्दा, संसारको सर्वाधिक राम्रो मानिएको अस्पतालमा उपचार गराउनु नेपालका राजनीतिकर्मीहरूको आकांक्षा हो । यसपटक भने प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्ने निर्णय लिएर उदाहरण पेश गर्नुभयो, आफ्नो मुलुकको सेवा, सेवा दिने ब्यक्तिहरु र उपलब्ध सरजामप्रति ।  यो दह्रो आत्मनिर्णयको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।

    पूर्णकालीन राजनीतिमा लागेका सबै नेताका लागि प्रधानमन्त्री ओली उदाहरण बन्न सफल हुनुभएको छ । उहाँद्वारा स्थापित उदाहरण सबैले पछ्याऊन् । पछिल्लो निर्णयले प्रधानमन्त्री ओलीको
    छवि र कद बढाएको छ । 

    नेपालमा विकास र समृद्धिको युग सुरु भएको अनुभूति दिलाउने, यसबारेको बहसको नेतृत्व गर्ने तथा रेलदेखि पानीजहाजसम्म, चीन र भारत जोड्ने सडकदेखि नेपालका चुलाचुलामा ग्याँस पुर्याउनेसम्मका विकासका सपनालाई ब्यबहारमा रुपान्तरण गर्ने नेताको छवि त छँदै थियो ।

    देशको प्रधानमन्त्री सबैको सपना र रहर हुनसक्छ । त्यो छटपटी अरुमा पनि देखिन्छ । तर उहाँले अविचलित रूपमा नाकाबन्दीको सामना गरेर कुशल राजनेताको उचाई बनाउनुभएको छ । त्यो निदाउँदा देखेको सपनाले होइन । उहाँको नेतृत्वमा चुनाव लड्दा प्राप्त दुईतिहाईको कम चर्चा हुने पाटो छ, त्यो पनि उहाँकै सपना हो । ‘डबल डिजिट इकोनमी’ र ‘विकसित देशको श्रेणीमा नेपाल’ । 
     
    विकास र समृद्धिको चर्चा गर्दा विगत तीन वर्षमा औसतमा ६ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धिदर हासिल भए पनि हाम्रो गाहस्र्थ उत्पादनको आधार नै यति न्यून छ, हाम्रो प्रतिव्यक्ति आम्दानी जिम्बावे, कङ्गो, युगान्डा, यमनजस्ता गरिब देशहरूकै हाराहारीमा छ । १० प्रतिशतको आर्थिक बृद्धिदर लगातार १०–१५ वर्षसम्म हासिल गर्न नेपालको अर्थतन्त्रको संरचनामा ठूलो परिवर्तन आउन जरुरी छ, जसका लागि औद्योगिक क्षेत्र र आन्तरिक उत्पादनको दायरा फराकिलो बनाउन सक्नुपर्छ ।

    टिकाउ र दिगो खालका विकासे कामका गतिविधि बढाउनै पर्दछ । कमसल  काम गर्नेलाई तत्स्थानमै नसिहत दिने ‘मेकानिज्म’ तयार गर्नैपर्दछ । 
    ओलीका अप्ठेरा 
    थोरै पछाडि फर्केर हेर्ने हो नेपाली कांग्रेसले आफ्नो बहुमतको सरकार आफैं ढालेको थियो । स्व.गिरिजाप्रसाद कोइरालाले सदन भङ्ग गरे । मुलुकको विकास भन्दा पार्टीभित्रको इख पेचिलो र प्रमुख बन्दा मुलुकले धेरै समस्या झेल्यो । पछि पर्यो, पारियो । 

    केही दिनअघि नेकपाभित्र पनि गिरिजापथको शंकाको बादल घेरियो । प्रधानमन्त्री ओली सत्ताच्यूत भएको हेर्नेहरुले कोइराला पथको याद गरे, कतिले प्रार्थना पनि । कतिले आगोमा घ्यू होइन पेट्रोल नै छर्कने हर्कत पनि गरे । 

    नेकपाभित्रको सत्ता संघर्ष र यसले स्थिरतामा पार्ने प्रभाव, विकास र समृद्धिका मुद्दामा सरकारको उल्झन एवं राजनीतिज्ञ, उच्चपदस्थ र कर्मचारीतन्त्रको भ्रष्टाचार र सदाचार जस्ता मुद्दामा कसरी अघि बढ्ने चतुर दृष्टि हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीलाई यस्ता कुराले अल्झाएकै छन् ।

    स्वास्थ्यलाभ गरेर निस्केपछि उहाँले यो समस्याको दिर्घकालीन समाधान निकाल्नु हुने नै छ । किनकि ‘सुखी नेपाली र समृद्ध नेपाल’ नारा र सपना पूरा गर्ने अभिभारा उहाँकै काधमा छ । त्यसैले दृढ अठोटका साथ अस्पातल जानुअघि भन्नुभएको थियो–‘सपना बिचैमा छोडेर अलप हुन्न ।’ 

    हामीले देख्दै भोग्दै आएका छौं दिल्लीको चाहना र आशीर्वाद । दिल्लीको सुविधासम्पन्न आवासबाट बालुवाटारमा बास सार्ने र अदृश्य शक्तिको भरिया बनेर नेपाल विघटन गराउन यात्रारत तिलस्मी यात्रीजस्तो पनि केपी ओली हुनुहुन्न । बरु दिल्लीसँग पौंैठेजोरी खेलेर त्यो राजनेताको कद बनाउनु भएको छ ।

    कुनै दलविशेषलाई दुईतिहाइ बहुमत प्राप्त हुनु प्रजातन्त्रमा दुर्लभ तर सुवर्ण अवसर मानिन्छ । यो तथ्यको राम्रै हेक्का उहाँमा छ । मुलुक परिवर्तनपछिको नक्सा उहाँको मस्तिष्कमा भरिएको छ । र, लागिपर्नुभएको छ ।

     नाकाबन्दीसँग डटेर सामना गरेका केपी ओलीको भारतीय प्रधानमन्त्री मोदीसँगको मित्रता प्रगाढ छ । जुन सम्बन्ध अब नेपाल–भारतबीच आर्थिक विकासका एजेन्डा तय गर्ने काममा प्रयोग गर्नुपर्छ । व्यक्तिगत सम्बन्धको घनिष्ठताले राष्ट्रिय स्वार्थको परिपूर्ति गर्न सक्ने  बनाउन पर्दछ ।  त्यसले नेताको कीर्ति अक्षुण्ण र अटल राख्न मद्दत गर्नेछ । व्यक्तिगत सम्बन्ध घनिष्ठ भए पनि नीति निरपेक्ष भयो भने त्यसले कुनै प्रतिफल दिन सक्दैन ।

    नेपालमा हुने राजनीतिक गतिविधिहरूलाई भारतले राजनीतिक तहमा पर्यवेक्षण गर्ने अवस्था सृजना गराउनु पर्नेछ । यसको जानकारी यहाँका प्रत्येक नेतालाई छ । तर पनि यो विसंगत अवस्था हटाउन नेपाल सरकारले कुनै प्रयास गरेको देखिएको थिएन यसअघि ।  सरकारले भारतसँग राजनीतिक स्वार्थअनुकूल व्यवहार गर्न यो सम्बन्धलाई प्रयोग गर्नैपर्छ । जस्ले विकासका साथै ब्यापार घाटा कम गर्न, सिमा विवाद हल गर्न मार्गप्रशस्त गर्न सकोस् ।

     तर्क जसो गरिएला तर  निश्चय पनि प्रधानमन्त्री ओलीको दृढ आग्रहका कारण चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरे । यो एक किसिमको उपलब्धि थियो, नेपालका लागि । सीको भ्रमणले नेपालीको आकांक्षाको नक्सामा धेरै ठूलो विस्तारको रेखा खिच्यो । चिनियाँ रेलले केरुङ बजारलाई विशाल चिनियाँ बजारको एक विन्दुका रूपमा स्थापित गर्नेबित्तिकै केरुङदेखि काठमाडौंसम्म र त्योभन्दा पर रेलको लिक बनाइदिने राष्ट्रपति सीको बचन यथासमय पूरा हुने नै छ ।

    एकथरी नेपालीले भारतले नाकाबन्दी गरेका बेला पनि नेपालका लागि चीनको बजार खोलेकामा प्रसन्नता जनाएका छन् । उनीहरूले चीनलाई भारतको वैकल्पिक बजारका रूपमा हेरेका छन् । चीनको भ्रमण गरेर व्यापार र पारवहनको बाटो खोलेपछि प्रधानमन्त्री ओलीको लोकप्रियता बढेको हो । देशमा अहिले जुन पार्टीको शासन चलेको छ, त्यसमा नेतृत्वको लोकप्रियता बढाउने काम पहिलो मानिन्छ । जुन ओली सरकारले गर्दै आएको छ ।

    संसारका ठूला र विकसित भनिएका देशका प्रमुखहरुको आवतजावत बढाउनै पर्दछ जसले नेपाल विकसित देशको समूहमा प्रवेश गर्दा हामीलाई हेर्ने दृष्टिकोण हाम्रो राहदानीको रङसँग नजर नजुधोस् । देश र प्रजातन्त्रप्रतिको स्पष्ट दृष्टिकोण र अडानबाट केपी ओलीले उचाइ प्राप्त गर्नुभएको हो ।

    देशलाई जाति र क्षेत्रका नाममा विभाजन गरी विभक्त गर्ने प्रयास भइरहँदा त्यसका विरुद्ध सतिसालझैँ उभिने नेताहरूमध्ये तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको नाम नै अग्रपङ्क्तिमा छ । जुन ऐतिहासिक कदम थियो ।

    नाकाबन्दीको चट्टानी प्रतिरोध जस्तै देशलाई जातीय आधारमा विभाजन गर्न भएका कपटी प्रयासलाई रोक्ने एउटैमात्र दल तत्कालीन नेकपा (एमाले) हो र उक्त पार्टीका प्रमुख नेता केपी शर्मा ओली हुनुहुन्छ भन्ने तथ्यलाई हामी स्वीकार गर्न कञ्जुस्याइँ पनि नगरांै र अरुले अहिले बलमिच्याई पनि नगरौं ।
    मुलुकलाई सदाचारी शासनको खाँचो थियो । भ्रष्टाचार नरोकी मुलुक अघि बढ्दैन भन्ने बुझेकाले उहाँले भन्नु भएको थियो ‘म भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ ।’

    भ्रष्टाचारको फगत आरोपमात्र लागेकालाई पनि प्रधानमन्त्री ओलीले कसैलाई छुट दिनुभएको छैन । त्यसको एउटै उदाहरण काफी छ, तत्कालीन सञ्चार मन्त्रीको बहिर्गमन । आफ्नालाई बचायो भन्ने आधारहीन आरोप लगाउनेप्रति यो भन्दा अर्को कुनै नजिर ठूलो होला र ? हुन त ईंटाभट्टामा मानिस जलाउनेहरु चोख्याउन सडक तताउनेहरुलाई यस्ता कुराले अर्थ राख्दैनन् । 

    नेपालमा विभिन्न काण्डका बेला मात्रै राजनीतिज्ञ र कर्मचारीका भ्रष्टाचार, सदाचार र नैतिकताका कुरा आउँछन् । एकाध मुद्दापछि यो बहस सेलाएर जान्छ । किनकि राजनीति र भ्रष्टाचार आपसमा जोडिएका छन् । यसैले आफ्ना पार्टीका भ्रष्टै भए पनि बचाउने खेल सुरु हुन्छ ।

    चुनाव जित्न पैसा जम्मा गर्नुपर्ने भएकाले शक्तिशाली राजनीतिज्ञ, व्यापारी र उद्योगीबीचको लेनदेनको सम्बन्धका कारण समाजमा एउटा अभिजात वर्ग (Elite Group) खडा भएको र यही वर्गको राज्य सञ्चालनमा कब्जा(स्टेट क्याप्चर) रहेको भनिन्छ । चुनाव प्रणालीमा परिवर्तन, कडा कानुनद्वारा चुनावी खर्चको नियमन तथा राज्यले नै मुख्य पार्टीहरूको खर्च नब्यहोरेसम्म राजनीतिमा पैसाको चलखेल र दबदबा रहिरहनेछ । जुन कामको थालनी केपी ओलीकै नेतृत्वमा संभव छ । अरुसँग अपेक्षा गर्नु पनि गलत हुनेछ, किनकि उहाँले आफैं आफ्नो क्षमताले आजको कद बनाउनुभएको छ ।  

    अरू क्षेत्रलाई काबुमा राख्ने हैसियत भएका न्यायालय र अख्तियारजस्ता संस्थाहरू स्वच्छ, भ्रष्टाचाररहित र राजनीतिबाट अप्रभावित हुनु अत्यावश्यक छ ।  दक्षता र अनुभवका अलावा उच्च नैतिक आचरण भएका र कुनै पार्टीतिर प्रत्यक्ष लगाव नभएकाहरू यी संस्थाको नेतृत्वमा आउन अत्यावश्यक छ । जसको सुरुवात उहाँबाटै हुने छ र हाम्रो पुस्तासम्म आइपुग्दा राजनीति शुद्ध हुनेछ र पैसाले होइन, मुद्दाका आधारमा चुनावमा प्रतिस्पर्धा हुनेछ । 

     अन्त्यमा, केही मानिसलाई प्रधानमन्त्रीको उमेरसँग आग्रह छ । उहाँको मार्गनिर्देशन, नेतृत्व र विकासको मार्गचित्रसँग कुनै साइनो छैन । हुन त त्यो सबै देख्न खास क्षमताको जरुरी छ, जुन कुरा जन्ममै कमी रहेको होला । 

    धेरैका आदर्श मलेसियाका महाथिर मोहम्मदलाई कसैले केपी ओली भन्दा जवान देख्छ भने चस्माको पावर बदल्ने सुझाव दिनबाहेक के गर्न सकिन्छ र ? यद्यपि स्थायी सरकार मानिने कर्मचारीतन्त्रले उहाँलाई दिने साथ र नेतृत्वबाट जनतामा सरकारद्वारा सम्पादित कामको नतिजानुभूति गराउने, प्रचार गर्ने कुराले पनि उहाँलाई कति साथ दिने भन्ने निक्र्यौला गर्ला । आम कार्यकर्ता र जनाताको एउटा भावनामा प्रधानमन्त्रीले सोच्नै पर्दछ । 

    सिंगापुरका ली क्वान यू आफूप्रति बफादार होइन कि प्रतिभावान र  योग्यलाई सही स्थान दिन्थे, आफ्नो भिजन कार्यान्वयनका लागि सक्षम र आफ्नो कामप्रति समर्पित टिम बनाउँथे । 

    प्रधानमन्त्री कार्यालयमा अधिकार सुदृढीकरण भए अनुरूप पर्याप्त सहयोगी हातहरू देखिएका छैनन् । यो कुरा प्रधानमन्त्रीका सहयोगी हुने कसैको रहर भन्दा उहाँ स्वयम्, सरकार र जनाताले स्वीकार गर्ने ठूलो समूह हुनै पर्दछ । जुन कुराको पुनर्विचार गर्ने समय भयो र काम देखाउने समय बाँकी छ । 

    प्रधानमन्त्रीज्यू, मुलुकको दीगो विकसको स्केचमा रङ भर्न छिट्टै स्वस्थ भएर आउनोस्,  कोटीकोटी नेपाली तपाईंको मुस्कानसहितको सेवाको पर्खाइमा रहेका छन् ।

    (लेखक नेकपा निकट विद्यार्थी नेतृ हुन्)
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार