दाङ । राप्ती राजमार्गमा चल्ने सवारी साधनलाई समय निर्धारण प्रणाली (टाइम कार्ड) लागू गरिएको छ । दुर्घटना नियन्त्रण गर्न टाइम कार्ड लागू गरिएको हो । राप्ती राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले समय निर्धारण प्रणाली सुरु गरेको सल्यान प्रहरीले जनाएको छ ।
राप्ती राजमार्गको दाङ कपुरकोट हुँदै रुकुम चल्ने गाडीमा समय निर्धारण गरिएको छ । टाइम कार्ड लिएका सवारीसाधनले प्रहरी चौकीमा अनिवार्य प्रवेश (इन्ट्री) गराउनुपर्ने छ । तोकिएको समयभन्दा छिटो पुगेमा यातायात नियमावली अनुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्ष्मण विकले जानकारी दिए ।
दुई दिन अघि मात्रै राजमार्गका सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । प्रहरी चौकीमा देखाई तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र नगराएका कानुनी कारबाही अघि बढाइने छ ।
टाइम कार्ड लागू भएपछि सवारीसाधनको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी आउने विश्वास लिइएको छ । सडकमा सवारीसाधनको चाप बढ्दै जानु तथा सडकको अवस्था दर्दनाक भएका कारण दुर्घटना बढी रहेको र लेन अनुशासनको पालना पनि नहुँदा टाइम कार्ड ले नियमन गर्ने प्रहरीको भनाई छ । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको छ ।