Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाग्मती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त, को को बने मन्त्री ?


    मंगलबार, मंसिर २८ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर । बाग्मती प्रदेशमा आज पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । 

    सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो । 

    श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् । 

    योसँगै बाग्मतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरिएको छ । 

    यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका छन् । 

    यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । बाग्मतीमा १५ मंसिरको मन्त्रीपरिषद्को निर्णयअनुसार आठवटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार