काठमाडौं, २८ फागुन ।
आफ्नो निर्माणाधीन घरमा बुधबार बम बिष्फोट भएपछि पूर्व सू्रचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले घटनाको सत्य तथ्य छानविन हुनुपर्ने बताएका छन् ।
आफ्नो मनोहरा फाँटमा निर्माण भइरहेको घरमा आफू सर्ने तयारी गरिरहेका बेला बम विष्फोट गराइएको बाँस्कोटाले बताएका छन् । बुधबार बिहान ७.४५ बजे िभक्तपुरको मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको हो । विष्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन् । गेटमा पनि क्षति पुगेको छ । स्थानीय बम विष्फोटले घर भूकम्पले जस्तै हल्लाएको बताएका छन् । उनको घरसँगैका छिमेकी कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ । सिसैसिसाको घिमिरेको घरमा बढी क्षति पुगेको छ । सिसाहरु फुटेका छन् ।
बास्कोटाको घर अगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ ।
घटनाबारे बास्कोटाले भने–‘सम्बन्धित निकायले छानविन गरोस् । सत्यतथ्य बाहिर ल्याइयोस् । साढे तीन तल्ला घरको एक तल्लाको काम सकेर बाँकी काम जारी रहेको उनले बताएका छन् । निर्माण सकिए लगत्तै बास्कोटा घर सर्ने तयारीमा थिए । मन्त्री भएयता बाँस्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको नीजी निवासमा बस्दै आएका छन् ।
विष्फोट कसले र किन गरायो भन्ने एकीन नभए पनि प्रहरीले ‘प्रतिबन्धित विप्लव समूह’ ले गराएको हुनसक्ने अुनमान गरेको छ । प्रहरीले प्रेसर कुकर बम विष्फोट गराइएको अनुमान गरेको छ । थप अनुसन्धानका लागि घटनास्थलमा अहिले नेपाली सेनाको टोली पुगेको छ ।