काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको सिफारिसमा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएपछि पार्टीमा झलनाथ खनालको आलोचना सुरु भएको छ ।
निगमका कर्मचारीहरुले केही दिनअगाडि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर निगमका भ्रष्ट, असक्षम र यौनकाण्डमा मुछिएका कर्मचारीलाई कार्यकारी अध्यक्ष बनाएकोमा आक्रोश व्यक्त गरेका थिए ।
ती कर्मचारीहरुले अधिकारी पार्टीको सदस्यसमेत नरहेको र उनको विगत ‘मण्डले’ भएको बताएका थिए । इलाम घर भएको कारणले मात्रै अधिकारीको निगममा नियुक्त नभएको र यसमा करोडौंको खेल भएको आरोप ती कर्मचारीहरुले अध्यक्ष नेपालसँग गरेका थिए ।
निगम स्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारीले महाप्रबन्धक डिमप्रकाश पौडेलले सेटिङ गरेका विभागीय प्रमुखहरुसँग भित्री साँठगाँठ गरिसकेका छन् । पार्टीलाई चन्दा दिनु छ भन्दै दर्जनौं फाइल आफ्नो घर्रामा थन्क्याएर राखेका छन् । विदेशमा भएका जीएसएबाट पनि मोटो कमिसन माग गरेको थाहा भएको छ ।
सन् २०१८ मा अधिकारी जनरल सर्भिस तथा प्रोक्योपमेन्ट प्रमुख हुँदा निगमका ट्वीनअटर विमान यति समूहको तारा एयरलाई भाडामा दिदा पनि करोडौंको कमिसनको लेनदेन गरेको आरोप छ ।