Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेभित्र कार्यकर्ताले रुचाएका तर नेताले त्यति नपत्याएका नेता चन्द्र रिजाल


    शनिबार, मंसिर २५ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दश वर्षको कलिलो उमेरमा (२०३८ साल) अनेरास्ववियू (पाँचौं) मा संगठित भएर राजनीतिक जीवन शुरु गरेका नेता चन्द्र रिजाल नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विभागको पहिलो सचिव र उद्योग व्यावसायिक विशेष जिल्ला कमिटिको संस्थापक अध्यक्षको भूमिकामा हुनुहुन्छ । व्यवसायलाई आफ्नो साधारण जीवीकोपार्जनको रुपमा लिएर सामाजिक तथा व्यावसायिक संघ–संस्थामा नेतृत्व विकासका लागि २५ बर्षदेखि निरन्तर लागिरहनुभएको पनि छ ।

    अनेरास्ववियुको केन्द्रीय सदस्यको जिम्मेवारी सकिंदै गर्दा राजनीतिमा देखापरेका अनेक विकृति जस्तै सांसद खरिदबिक्री, राजनीतिलाई सेवा नभई शक्ति र पेशा ठान्ने प्रवृत्ति बढेको र सेवामुखी राजनीतिको इतिहास बोकेका इमान्दार नेता, कार्यकर्ताको पीडा र जलनबारे जानकार भएपछि आफू  सेवामुखी राजनीतिमा स्वाभिमानका साथ टिकिरहने हो भने आर्थिक हिसावले आत्मनिर्भर बन्नुपर्छ भन्ने ठानेर व्यवसायमा हाम्फाल्नुभयो ।

    केही सहपाठी साथीहरुसहित त्यसरी व्यवसायमा होमिनुभएका रिजालले आफ्नो पाखुरीको बलमा जीविकोपार्जन भएपछि राजनीतिलाई पेशा बनाउने प्रवृत्तिलाई परास्त गर्न सकिन्छ भन्ने मनोबल अन्य नेता कार्यकर्तामा पनि विकास होस् भन्ने आशा राखेर व्यवसाय शुरु गरेको कुरा स्मरण गर्नुहुन्छ । नभन्दै केही बर्षपछि नेकपा(एमाले) ले नवौं महाधिवेशनबाट आफ्ना नेता कार्यकर्तालाई उत्पादनसँग जोडिनुपर्ने निर्णय गर्यो । त्यस निर्णयबाट उहाँ निकै उत्साहित बन्नुभयो । तर कार्यान्वयनको तहमा भने त्यसले धेरै सकारात्मक परिणाम ल्याउन सकेन ।

    पछिल्लो समय पर्यटन क्षेत्रमा स्थापित व्यवसायी चन्द्र रिजाल आफूलाई पर्यटन क्षेत्रको विज्ञको हिसाबले पनि विकास गरिरहनुभएको छ । त्यतिमात्रै होइन यस क्षेत्रमा शून्य प्रायः रहेको पार्टीको अवस्थालाई सयौं कार्यकर्ता निर्माण र विकास गरी संगठानिक रुपमा बलियो बनाउन सफल पनि हुनुभएको छ । पार्टी निर्माणको दौरान पर्यटन क्षेत्रका TAAN, HAN, NATTA, NMA जस्ता संघसंस्थामा राष्ट्रिय पूँजीको वकालत गर्न सक्ने धेरै नेता कार्यकर्ता तयार पारी निर्वाचित गराएर स्थापित गराउनुभयो । 

    उहाँले अवलम्बन गरिरहनुभएको सादा जीवनशैली, सहयोगी भावना, स्पस्ट विचार र निरन्तरको सक्रियताले गर्दा यस क्षेत्रमा उँहाका प्रशंसकहरु धेरै छन् ।  कार्यकर्ताका बीच चर्चित र प्यारो भए पनि नेतृत्वले भने उहाँको क्षमतालाई त्यति चिनेको जस्तो देखिदैन । सधै काममा मात्र तल्लीन रहने तर नेताहरुको नजिक जान नखोज्ने भएकाले पनि त्यस्तो भएको होला । पार्टीको दशांै महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएका उहाँ त्यसबखत नेतृत्वले सर्वसम्मत गर्न उम्मेदवारी नदिनू भनेपछि पछि हट्नुभयो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार