काठमाडौं, २७ फागुन । तराईका सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका कर्मचारीहरु रंगेहात पक्राउ पर्ने क्रम बढेको छ । पक्राउ पर्नेहरुको संख्या प्रदेश नम्बर ५ मा धेरै छ । प्रदेश नम्बर ५ मा डिआईजीसम्मकै सेटिङमा तस्करी भइरहेकोले घुससहित रंगेहात पक्राउ गर्ने क्रम बढेको हो ।
बाहिनीपति रहेका डिआईजी नारायणदत्त पौडेलले नै गण र बिओपीका इन्चार्जहरुसँग मासिक उठाउने भएकाले तस्करीमा यस्तो सेटिङ बढेको हो । सो प्रदेशका सशस्त्र प्रहरीको कामबारे सशस्त्र प्रहरी हेडक्वार्टरमा उजुरी परे पनि छानबिन हुने गरेको छैन ।
आईजीपी शैलेन्द्र खनाल आफ्नै मान्छे भएकोले जति उजुरी परे पनि केही नहुने डिआईजी पौडेलले बताउँदै आएका छन् । आईजीपी खनालले समेत उजुरीउपर छानबिन नगरेपछि संस्थागत रुपमा सीमा क्षेत्रमा तस्करी भइरहेको आशंका प्रहरी अधिकारीहरुले गरेका छन् । यसले संगठन बदनाम भइरहेको उनीहरु बताउँछन् ।
प्रदेश नम्बर ५ मा कार्यरत एक प्रहरी अधिकृतका अनुसार पैसा नबुझाउने इन्चार्जलाई बाहिनीबाट अनेक बहानामा दुःखसमेत दिने गरिएको छ । साथै कतिपय गणमा हुने राशनभत्ताको अनियमितताको उजुरीसमेत थन्काइएका छन् ।
पौडेल यसअघि ककनीस्थित तालिमकेन्द्रमा प्रमुख हुँदा हिनामिनामा छानबिनमा तानिएका थिए । पछि हिनामिनाको पैसा फिर्ता गराएर उनलाई कारबाहीबाट जोगाइएको थियो । अहिले बाहिनीपतिका रुपमा उनले प्रदेश ५ का ठूला व्यापारीसँग सशस्त्रको भावी आईजीपी मैं हुँ भनेर समेत उनले पैसा उठाउने गरेको उजुरी गृह मन्त्रालयसम्म पुगेको छ । पौडेलको अनियमिततामा महानिरीक्षक खनालले समेत साथ दिएका छन्, दृष्टि साप्ताहिकमा समाचार छ ।