Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छठका लागि सजाइयो मोहना घाट


    मंगलबार, कार्तिक २३ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • धनगढी । तराई वासीले हर्ष उल्लासका साथ मनाउने छठ पर्वको पूर्व सन्ध्यामा धनगढीस्थित मोहना नदी किनारलाई सजाइएको छ ।

    छठको पहिलो दिन र अन्तिम दिन नदी किनारबाट सूर्यको पूजा गर्ने परम्परा अनुसार नदी किनारलाई स्नान योग्य बनाउन थालिएको छ, भने नदी किनारमा सरसफाई गर्दै गेटसहित टेन्ट लगाइएको छ । प्रत्येक वर्ष मोहना नदीमा छठ पर्वको अवसरमा मेलासमेत लाग्ने गर्छ । 

    छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार गत वर्ष भने कोरोना संक्रमणका कारण मोहना घाटमा मेला रोकेर सामान्य पूजा मात्रै गरिएको थियो । यस वर्ष कोरोना संक्रमण केही घटेका कारण मेलालाई निरन्तरता दिन थालिएको अध्यक्ष मण्डलले बताए ।

    उनका अनुसार मंगलबारसम्म पूजाका लागि सम्पूर्ण तयारी पुरा गरिएको छ । मोहना घाटमा टेन्टको व्यवस्थासँगै सूर्य भगवानको मूर्ति, भगवान शिवजीको मूर्ति, गणेशको मूर्ति बनाउने काम पनि सकिएको उनले बताए । ‘पूजाका लागि भक्तजनलाई उचित बस्ने व्यवस्था पनि गरिएको छ,’ अध्यक्ष मण्डलले भने,‘भजन मण्डली धनगढी पुगिसकेको छ ।’

    मोहना घाटमा छठ पर्वको पहिलो दिन २४ गते राति भजन लगाइने उनले बताए । उनले पशुपतिनाथमा लगाइने महाआरतीसमेत मोहना घाटमा लगाइने बताए । ‘पशुपतिनाथ मन्दिरमा लगाइने आरती यस पटक धनगढीको मोहना घाटमा पनि लगाइने छ,’ अध्यक्ष मण्डलले भने,‘यसले भक्तजनलाई थप आनन्द र हौसला प्रदान गर्ने छ ।’

    यस्तै छठ पूजा सेवा समितिका प्रमुख सल्लाहकार धर्मराज ओझाले विगतका वर्ष जस्तै छठ पूजा समितिले यसवर्ष पनि निरन्तरता दिएको बताए । 
    छठमा तराई वासी मात्रै नभई पहाडीको पनि सहभागिता हुने उनको भनाई छ । ‘यस अघि पनि छठका अवसरमा पहाडबाट आएका परिवारले पनि बर्त बस्ने गरेका थिए,’ उनले भने,‘यस वर्ष पनि ती परिवारले छठमा बर्त बस्ने जनाएका छन् ।’ उनले समुदाय स्तरमा मनाइने सबै पर्वमा सबै जात जातिले सहभागिता जनाउने गरेकोसमेत बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार