Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माटोको भाँडो प्रयोग गर्ने चलन हराउँदै, कुमाले पेसा संकटमा


    शुक्रबार, कार्तिक १९ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    सप्तरी । माटोको भाँडा प्रयोग गर्ने चलन हराउँदै गएपछि कुमालेको पेसा संकटमा परेको छ । पहिले भान्सादेखि घरभित्रको हरेक कामको लागि माटाको भाँडा प्रयोग हुँदै आएको थियो । 

    अहिले माटोको भाँडाको ठाउँमा आधुनिक भाँडा प्रयोग हुन थालेपछि कुमाले पेसा संकटमा परेको छिन्नमस्ता गाउँपालिका- ३ का गिरिजानन्द पण्डितले बताए । उनले भने, ‘यो व्यवसाय चौपट्टै छ । पुर्खौली पेसामा मात्र निर्भर रहेर बाँच्न सकिने अवस्था छैन । अन्य समयमा खेतीपाती लगायत काम गर्नुपर्छ । चाडपर्वको बेला पुर्खौली पेसा माटोको भाँड‍ा बनाउने काम गरिरहेका हुन्छौं ।’

    पुजा, श्राद्धकर्म, व्रतबन्ध, विवाहमा मात्र माटोको भाँडो प्रयोग हुनेगरेको उनले बताए । सोही  ठाउँका प्रदीप पण्डितले आधुनिकताले माटोका भाँडाको प्रयोग हराउँदै गएको बताए । 

    ‘साखगरी दीपावलीमा माटोको दीप र डिबिया अनिवार्य बाल्ने चलन थियो । आधुनिकतासँगै इलेक्ट्रिक झिलिमिली बत्ती बाल्न थालेपछि पुरानो संस्कार हराउँदै गएको हो’, उनले भने ।

    उनले माटोको भाँडाको मूल्य पनि राम्रो दिन नखोज्ने गुनासो गरे । अन्य समयभन्दा दशैँ दीपावलीमा माटोका भाँडा बिक्री हुने भएकाले आफूहरू यो समयमा घैला, दियो, हात्ती, कलश, कराहीलगायत सामाग्री बनाउन व्यस्त रहने गरेको बताए ।

    राजविराज नगरपालिका मुसहरनियाँकी सरिता पण्डितले पुर्खादेखिको पेसा लोप हुन नदिन मात्र चाडपर्वमा माटोका सामाग्री बनाउँदै आएको बताइन् । उनले यसले नयाँ पुस्ता सिप सिकाउन सहयोग पुगेको बताइन् ।

     १५/२० वर्ष पहिले प्रत्येक घरमा माटोको दियो मात्र बल्ने गरेको राजविराज नगरपालिका-२ की निलम देवले स्मरण गरिन् । उनले अहिले आफूले पनि पूजा स्थान बाहेक अन्य ठाउँमा आधुनिक बत्ती बाल्दै आएको बताइन् । सुधा देव/न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार