Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिथिलामा ‘गोधन’ पर्व मनाइँदै


    शुक्रबार, कार्तिक १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज  महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ ।

    पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गर्ने गरिन्छ । विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजाविधिमा प्रकृतिको आराधना भएको मैथिल विद्वान बताउँछन् ।

    यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ । गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथावस्तु नै पर्व परम्परा भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउछन् । पछि गोवद्र्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन लागिएको डा विमलको भनाइ छ ।

    कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्गाउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङ्मा मिसाएर यो मिश्रणले रङ्गाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधि) नलाग्ने मैथिल जनविश्वास छ ।

    पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना (तोरी पेलिएको चोकर) खुवाउने र नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्परा रहेको छ । पर्वको मुख्य पक्षचाहिँ प्रकृति (वन, पहाड, पानीका मुहान, चरनक्षेत्र) संरक्षणको सन्देश रहेको डा विमल बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार