कपिलवस्तु । कपिलवस्तुको विजयपुर गाउँपालिका-९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विजयपुर-६ का २६ वर्षीय जयन पुन मगर र विजयपुर-९ का २४ वर्षीय मुकेश महरा छन् । मगर थापाका झड्केला छोरा हुन् ।
‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उनले दिएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने । थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयपुर-६ मा बस्दै आएका थिए ।
थापाको कात्तिक ४ गते विजयनगर गाउँपालिका-५ बनगाईस्थित पोखरीमा शव फेला परेको थियो । प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो ।
त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए । लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा शव फालेको प्रहरीले जनाएको छ ।
दुबैलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको भण्डारीले बताए ।