काठमाडाैं । बुधबार बिहान ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले बुटवलबाट बरामद गरेको छ ।
भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको पिकअप गाडीमा ल्याइएको उक्त बराबरको भन्सार छलीको सामान प्रहरीले बुटवलबाट बरामद गरेको हाे ।
प्रहरी उपरीक्षक मनोज केसीका अनुसार गाडीमा रहेको कुर्ता सुरुवाल, जुत्ता, लिपगार्ड, साडी, चुन्नीलगायत जाडोमा प्रयोग हुने सामानहरू बरामद भएको हाे ।
भन्सार छलेर ठूलो मात्रामा सामान ल्याइँदै गरेको सूचनाका आधारमा प्रहरीले ती दुई वटा गाडीलाई रोकेको थियो ।
रूपन्देहीकै विभिन्न ठाउँबाट आइतबार, सोमबार र मंगलबार भन्सार छलेर ल्याइएको १० लाख रुपैयाँ बराबरको सामान बरामद भएको केसीले बताए ।
बरामद सामान, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको केसीले बताए ।
सामान कसले भित्र्याएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताए । ‘भन्सार छलीमाथि हाम्रो सूक्ष्म निगरानी र आक्रामक कारबाही चलिरहेको छ,’ केसीले भने।