खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाको महुरेमा रहेकाे महुरेगढी प्राविधिक शिक्षालयले डिप्लोमा इन फरेष्ट्री दोस्राे वर्षको वार्षिक परीक्षामा मुलुकभरमै उत्कृष्ट नतिजा ल्याएको छ ।
सोमबार सार्वजनिक नतिजा अनुसार महुरेगढी प्राविधिक शिक्षालयका १३ जना विद्यार्थी नै उत्तीर्ण भएर शतप्रतिशत नतिजा आएको शिक्षालयका प्राचार्य ईन्द्रप्रसाद आचार्यले बताए । डिप्लोमा इन फरेष्ट्री दोस्राे वर्षको वार्षिक परीक्षा गत मंसिरमा सञ्चालन गरिएको थियो । याे सीटीईभीटीको आंगिक क्याम्पस हाे ।
सार्वजनिक नतिजा अनुसार मुलुकभरका नाै प्राविधिक शिक्षालयमध्ये कालीगण्डकी पोलिटेक्निक इन्स्टीच्यूट, तनहुँको ९१.६७ प्रतिशत, थाहा पोलिटेक्निक इन्स्टीच्यूट, मकवानपुरको ५४.५५ प्रतिशत, पानिनी पोलिटेक्निकल स्कुल, अर्घाखाँचीको ५० प्रतिशत, सहिद कृष्णसेन इच्छुक पोलिटेक्निक इन्स्टिच्यूट, दाङको ५० प्रतिशत नतिजा आएकाे छ ।
कर्णाली टेक्निकल स्कुल, जुम्लाको ३२.५० प्रतिशत, काठमाडाैं फरेष्ट कलेजको ३१.४३ प्रतिशत, लर्ड वुद्ध कलेज, काठमाडाैंकाे १७.९५ प्रतिशत नतिजा आएकाे छ ।
प्रथम वर्षमा शतप्रतिशत भर्ना हुने दावी
शैक्षिक सत्र २०७८/०७९ मा महुरेगढी प्राविधिक शिक्षालयमा डिप्लोमा इन फरेष्ट्री प्रथम वर्षमा शतप्रतिशत भर्ना हुने दावी गरिएको छ । ४० जनाको कोटा रहेको डिप्लोमा इन फरेष्ट्री प्रथम वर्षमा हालसम्म ३५ जना भर्ना भइसकेको प्राविधिक शिक्षालयका प्राचार्य आचार्यले बताए । इच्छुक विद्यार्थीले १७ कात्तिकसम्म भर्ना हुन पाउने शिक्षालयले जनाएको छ ।