Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता


    शनिबार, कार्तिक १३ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडाैं । कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ ।

    कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिइएको अभियानमा आज ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । महाअभियानको ४४२ औँ हप्तामा आज सिनामंगल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको थियो । गत हप्ता पनि यस क्षेत्रमा सफाइ गरिएको थियो ।

    पशुपति क्षेत्रमुनिको नदी किनारमा आर्यघाटबाट झरेको बाँस, खटलगायत फोहोरको थुप्रो भेटिएपछि आज पनि यस क्षेत्रमा सफाइ गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् ।सफाइबाट तीन गाडी फोहर व्यवस्थापन गरिएको छ । एक गाडी फोहर काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरिसकेको छ । दुई गाडी फोहर भने नदी किनारमा थुपारिएको र महानगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उनले

    बताए । सफाइमा कलाकार शिव श्रेष्ठ, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । 

    आर्यघाटबाट निस्कने फोहर व्यवस्थापनका विषयमा समितिले पशुपति क्षेत्र विकास कोषसँग पनि बैठक गरिसकेको जनाइएको छ । कोषले त्यस क्षेत्रको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । पशुपति क्षेत्रलाई स्वच्छ बनाउन कोषले पनि असोज पहिलो सातादेखि स्वच्छ पशुपति अभियान सुरु गरेको छ । 

    यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४११ औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ । ‘जिरो वेष्ट, अल दि वेस्ट’ भन्ने नाराका साथ पछिल्लो समय सफाइ अभियानलाई निरन्तरता दिइएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । यस क्षेत्रमा कुहिने फोहर खाडल खनेर गाडिन्छ । नकुहिने फोहोरमात्र यस क्षेत्रको सफाइबाट व्यवस्थापन गरिएको छ ।

    मनोहरा सफाइ अभियानको २४१ औँ हप्तामा महानगरपालिकाको वडा नं ३२ स्थित शुभकामना मार्ग क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा त्यस क्षेत्रका ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए । 

    विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि यसका सहायक नदी, उपत्यकाका चक्रपथलगायत सांस्कृतिक सम्पदा सफाइ अभियान पनि सुरु भएको छ । उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ ।

    महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०८ स्थानमा सफाइ भइरहेको जनाइएको छ । प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘देश सेवाका लागि दुई घण्टा’ भन्ने नाराका साथ सफाइ अभियान हुने गरेको छ ।

    महाअभियान सुरु भएपछि चाडपर्व, चिसो, गर्मी, प्राकृतिक विपत्तिजस्ता प्रतिकूल परिस्थितिमा पनि अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिने गरेका छन् । विश्वमै सबैभन्दा लामो समय चलेको स्वयंसेवी अभियान भन्दै जापानको अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि वाग्मती सफाइ महाअभियान पुरस्कृत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार