काठमाडौं । प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका जिल्लाका प्रहरी हाकिमहरुकै मिलेमतोमा भन्सारछली बढेको र घुमुवा राखी घुस असुली गर्ने गरेका गुनासा ब्यापक आउन थालेपछि प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा अनुगमन टोली पठाएको थियो । प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखाबाट प्रदेश नम्बर २ मा एसएसपी भीम ढकाल निरीक्षण तथा अनुगमनमा गएका थिए । लुम्बिनी प्रदेशमा टेकप्रसाद राईलाई अनुगमनमा पठाइएको थियो ।
एसएसपी ढकाल र राईले अनुगमन गरी दिएको प्रतिवेदनका आधारमा असुलीमा संलग्न २ नम्बर प्रदेशका ८ जिल्लाका ६ जना घुमुवालाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ । धनुषाका घुमुवा कमाण्डर प्रहरी नायब निरीक्षक(सई) रामरेख यादवलाई भने तानिएको छैन । १० बर्षदेखि धनुषामा कार्यरत हरेक एसपीका घुमुवा उनलाई नतानिनुको कारण महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालकै दबाबले काम गरेको छ ।
पाल धनुषाको एसपी हुँदा होस् कि प्रदेश २ को डीआइजी हुँदा होस् सई यादवलाई नै घुमुवा राखी असुली गरेका थिए । एआइजी पाल प्रदेश २ को डीआइजी हुँदा तत्कालीन डीएसपी हाल एसपी सन्तोष खड्काको नेतृत्वमा ८ वटै जिल्लामा घुमुवा टोली परिचालन गरेका थिए । त्यसमा धनुषामा सई रामरेख यादवले नै तस्करहरुसँग सेटिङ गर्ने गरेका समाचार नै सार्वजनिक भएको थियो । त्यही कारण पालले यादवलाई तान्नबाट रोकेका छन् ।
हवल्दारदेखि सई हुँदा पनि यादव धनुषामै घुमुवा छन् । जिल्लाका हाकिम र प्रदेशका डीआइजीलाई समेत तस्करदेखि नदीजन्य पदार्थ दोहन गर्नेहरुसँग सेटिङ मिलाई मासिक घुस बुझाउने घुमुवा कमाण्डरलाई निरीक्षणमा गएका एसएसपी ढकालले तान्न सिफारिस गरे पनि एआइजी पालले संरक्षण गरेका छन् ।
घुुमुवा कमाण्डरलाई यथावत राखी उनीमातहतका हवल्दार सुरेन्द्र ठाकुर हजाम, जवानहरु बिजय मुखिया, भोगेन्द्र पासवान र सुरेन्द्र कार्कीलाई भने प्रहरी हेडक्वाटर तानिएको छ । ‘केही कुरा बुझ्नुपर्ने भएकाले २०७८ कात्तिक ७ गते १० बजेभित्र कार्यालय पोशाक, चुस्ता २ जोर र आवश्यक दैनिक नित्यकर्मका सामानसहित प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा उपस्थित गराइदिन’ अनुरोध गर्दै हेडक्वाटरको प्रशासन महाशाखाले २०७८ कात्तिक ३ गते पत्र पठाएपछि उनीहरु तानिएका छन् ।
एआइजी पालको दबाबमा प्रहरी प्रधान कार्यालय, प्रशासन महाशाखाले घुस असुली गर्ने कमाण्डरलाई नतानेर मातहतकालाई तानी मत्स्यन्याय चरितार्थ गरेको छ ।
निरीक्षण टोलीको सिफारिसमा असुलीमा संलग्न देखिएका प्रदेश २ को पर्साका घुमुवा १ जनामात्रै तान्न सिफारिस गरिएको छ ।
धनुषाका एसपी प्रकाश रानाभाट (आइतबार तानिएका)ले तिनै रामरेख यादवलाई परिचालन गरी तस्करहरुसँग घुस असुली गर्ने गरेको आरोप छ । उनलाई घुमुवा परिचालन गरी आर्थिक अनियमितता गरेकै आरोपमा तानेर एसपी बसन्त रजौरेलाई धनुषामा काजसरुवा गरिसकिएको छ ।