Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक वडा एक पार्क अभियानमा काठमाडौं महानगर, ५० बढी पार्क बन्दै


    सोमबार, कार्तिक ८ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ । ‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप काठमाडौँ महानगरपालिकाले आज एकै दिन वडा–३२ मा दुई ओटा पार्कको शिलान्यास गरेको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करीब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको आज एकै पटक शिलान्यास गर्नुभएको हो ।

    पार्क शिलान्यासपछि सम्वोधन गर्दै प्रमुख शाक्यले साना ठूला गरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ५० वढी पार्क निर्माण भैरहेको जानकारी दिनुभयो । ‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरुको अपनत्व रहने गरी उहाँहरुलाई नै संरक्षणको जिम्मा दिने नीति अनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौँ ।’

    उहाँले कतिपय जमिन गुठीका नाममा रहेका कारण पार्क निर्माण गर्ने र हरियाली कायम गर्ने कुरामा समस्या भएको बताउनुभयो । ‘गुठी संस्थानलाई हामीले कुत बुझाउँछौँ, तपाईँहरुले महानगरपालिकालाई लिजमा दिनुहोस् । त्यहाँ हरियाली पार्क निर्माण गर्छौ भनेर प्रस्ताव राखेका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘व्यवसायिक भवन अहिले नीजि क्षेत्रबाट प्रयाप्त बनेका छन् । गुठीको जमिनमा व्यवसायिक भवनको आवश्यक छैन । त्यहाँ पार्क निर्माण गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।’

    उहाँले ती जमिन गुठी संस्थानले लिजमा दिए संरक्षण गर्दै हरियाली कायम गर्ने बताउनुभयो । ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र मात्रै ५० बढी पार्क निर्माणको काम अघि बढेको छ,’ शाक्यले भन्नुभयो, ‘कति पार्क निर्माण सम्पन्न भएका छन्, कति निर्माणको चरणमा छन् । कति शिलान्यास भएका छन् भने कति शिलान्यासको तयारीमा छन् ।’

    उहाँले सम्पदा निर्माण–पुनर्निर्माणको कामलाई पनि अघि बढाएको बताउनुभयो । ‘कतिपय संम्पदा गुठी संस्थानको स्वामित्वमा रहेका कारण निर्माण–पुनर्निर्माणमा समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘हामी गुठी संस्थान र पुरातत्व विभागसँग समन्वय गरेर अघि बढिरहेका छौँ । गुठी संस्थानले हामीलाई सहमति दिने हो भने धेरै मूर्त–अमूर्त सम्पदा पनि हामी निर्माण–पुर्ननिर्माण गरेर अघि बढ्छौँ ।’

    काठमाडौँ आधुनिक र परम्परागत साँस्कृतिक विशेषता भएको शहर भएको भन्दै त्यसको पहिचान जोगाउनुपर्ने चुनौति रहेको बताउनुभयो ।‘काठमाडौँको विशेषता अलग्गै छ । भित्री शहर सम्पदा नै सम्पदा, मन्दिर नै मन्दिर, देवता नै देवताले भरिएको छ,’ शाक्यले भन्नुभयो, ‘त्यसपछि नयाँ विकास भएको शहर पनि यही महानगरपालिका भित्र छ । यी दुईलाई आधार बनाएर हामीले यहाँको विकासका लागि नीति बनाउनुपर्छ र त्यसै अनुरुप गर्दै आएका छौँ ।’

    उहाँले काठमाडौँको सौदर्य, सम्पदा र आत्मीयता अरुतिरको भन्दा फरक रहेको पनि दाबी गर्नुभयो । ‘यहाँ ७७ जिल्लाका नागरिक बसोबास गर्दै आएका छौँ । तर, सबैमा आत्मीयता छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले अनेकतामा एकता कायम गर्न सक्ने विशेषता भएको महानगरपालिका पनि हो, काठमाडौँ महानगरपालिका ।’

    कार्यक्रममा सम्वोधन गर्दै सभामुख श्रेष्ठले, वागमती नदी किनारामा पार्क तथा हरियाली बढाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा जम्मा भएको राजस्व पर्याप्त भएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभयो ।

    उपप्रमुख खड्गी श्रेष्ठले, सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्ने महानगरको नीति व्यवहारिक रुपमै कार्यान्वयनमा आएको महसुस भएको अनुभूति राख्नुभयो ।

    महानगरले बनाएका पार्कहरुको दिगो व्यवस्थापनका लागि स्थानीय सहभागिता हुने बताउँदै खड्गी श्रेष्ठले भन्नुभयो, ‘भित्री सहरमा पार्क बनाउन असम्भव भइसक्यो । त्यहाँ जग्गा नै छैन । पैसा भएर मात्र पनि नहुने रहेछ । त्यसैले बाहिरी सहरमा जहाँ सम्भव छ । त्यहाँ पार्क विकास गरौँ ।’

    काठमाडौँ भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले यो आर्थिक वर्षमा मात्रै करीब ३५ वटा पार्क निर्माणको तयारीमा रहेको बताउनुभयो । ‘हामीले साना–ठूला गरेर ५० बढी पार्क निर्माणको काम अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो । कार्यपालिका सदस्य हीरादेवी पोखरेलले आफ्नो ठाउँमा विकास हुने सार्वजनिक निर्माणका लागि स्थानीयले खवरदारी गर्नुपर्छ भन्नुभयो ।

    अमरावती पार्क उपभोक्ता समितिका अध्यक्ष सरोज नेपालले पार्क निर्माणको निगरानी गर्न समितिकातर्फबाट २ जना इञ्जिनियर र २ जना सामाजिक परिचालकलाई नियमित खटाउने बताउनुभयो । करीब ११ आना जमिनमा निर्माण दोभाव पार्क करीब ६७ लाखको लागतमा निर्माण हुँनेछ भने करीब चार रोपनी क्षेत्रफलमा निर्माण हुने अमरावती पार्क करीब ९० लाखको लागतमा निर्माण हुँदैछ ।

    कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतको पनि उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार