Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नौ महिनामै किन तानिए धनुषाका एसपी ?


    आइतबार, कार्तिक ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । धनुषा र सर्लाहीका एसपीहरु तानिएका छन् । धनुषाका प्रकाश रानाभाट र सर्लाहीका एसपी सन्तोषसिंह राठौर तानिएका छन् । रानाभाट र राठौरलाई तानेर प्रहरी प्रधान कार्यालयले शनिबारै एसपी बसन्त राजौरेलाई धनुषा र कृष्ण प्रसाईलाई सर्लाहीको कमाण्ड गर्न काजमा खटाएको छ ।

    सार्वजनिक स्थानमा तास खेलेको घटना मिडियामा आएपछि एसपी रानाभाट र राठौरलाई तानिएको चर्चा छ । धनुषाका एसपी रानाभाट घुस असुलीमा विवादमा पर्दैआएका थिए । उनले घुमुवा प्रहरीका रुपमा भोगेन्द्र पासवानलाई राखी जिल्लाका धनौजी लगायतका सरही नाकाबाट मदिराका तस्करहरुसँग सेटिङ गरी असुली गर्दैआएको समाचार सार्वजनिक भएका थिए । घुमुवा पासवानलाई पनि शनिबारै प्रहरी प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

    एसपी रानाभाटले गएको असारमा लागूऔषध मुद्दाको मिसिल फेरबदल गरेर लाभ लिन खोजेको आरोप लागेको थियो । उनले लागूऔषध मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानविन नै भएको थियो । २०७७ फागुन ८ गते धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागुऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको घटनामा एसपी रानाभाटले मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । रानाभाट ९ महिनाअघि मात्रै धनुषाको एसपीमा सरुवा भएका थिए ।

    सर्लाहीका एसपी राठौरको सरुवा भएको १५ महिना पुग्न लागेको छ । उनले पनि सर्लाहीका सीमा नाकाबाट तस्करी सुचारु गर्न घुमुवा खटाएका थिए । उनले सर्लाहीको सबैभन्दा बढी तस्करी हुने त्रिभुवननगर नाकामा विवादित असई मनोज यादवलाई इन्चार्ज राखी खुलेआम तस्करी गराउन छुट दिएका छन् । मनोज यादव एसपी राठौरका घुमुवा हुन् । उनलाई केही दिनअघि प्रहरी प्रधान कार्यालयले ताने पनि अख्तियारका एक आयुक्तमार्फत् पावर लगाई उनी पुनः त्रिभुवननगर चौकीकै इन्चार्जमा फर्किसकेका छन् ।

    महोत्तरीका एसपी दिनेश आचार्यले पनि घुमुवा प्रहरी राजेश यादवलाई परिचालन गरी घुस असुली गर्ने क्रम यथावत छ । नेपालफेसले महोत्तरीमा घुमुवा यादवलाई परिचालन गरी तस्करसँग सेटिङ गर्ने गरेको समाचार यसअघि नै प्रकाशित गरिसकेको छ ।

    यसैगरी, धनुषा र सर्लाहीमा एसपी हुनका लागि बागमती प्रदेश ट्राफिकका शान्तिराज कोइराला र तनहुँ दंगा गणका दयानिधि ज्ञवाली पनि लागेका थिए । तर रजौरे र प्रसाईले बाजी मारेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार