चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त कार्यक्रममा चलचित्र महासंघका महासचिव अशोक शर्माले वितरक, प्रदर्शक तथा निर्माताहरूको छलफलबाट दुई साताको ग्याप राखेर तीन महिनासम्म फिल्म रिलिजको क्यालेन्डर सार्वजनिक गर्ने बताएका थिए ।
तर, यसको केही दिन नबित्दै विजयादशमीलाई लक्षित गर्दै २५ असोजबाट धन्दागिरी र २६ असोजमा डाँडाको वरपीपल प्रदर्शनमा आउने भएका छन् । यी दुई फिल्मको पोष्टर यतिबेला उपत्यकाको विभिन्न स्थानमा प्रचारप्रसारका लागि तासिएका छन् । कोरोनाभाइरसको दोस्रो महामारीपछि नेपाली फिल्मको पोष्टर देखिनु उत्साहको विषय भए पनि एकैपटक दुई फिल्म आउँदा व्यापारलाई असर गर्ने निश्चित छ ।
एक वितरकले नाम नखुलाउने सर्तमा भने- ‘वितरकहरूले नै कुरा नबुझ्दा क्यालेन्डर निस्किन समस्या भयो, अब फिल्महरू पनि नजुध्लान भन्न सकिँदैन ।’ डाँडाको वरपीपललाई शोभित बस्नेतले निर्देशन गरेका छन् । यसमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापालगायतको अभिनय छ ।
धन्दागिरीमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, धिरेन शाक्य, दिनेश डिसीलगायतको अभिनय छ । यसलाई एनवी अन्जानले निर्देशक गरेका हुन् ।