काठमाडौं । चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको पाइएपछि ७ जनालाई सोमबार बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार परिचय पत्र नभएका उनीहरुले आफूलाई टिकट काउन्टरको कर्मचारी हुँ भन्दै अनाधिकृत रूपमा भाडा उठाइ रहेको अवस्थामा नियन्त्रणमा लिएको हाे ।
पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा रहेका छन् ।
नियन्त्रणमा लिइएका सातै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा राखिएको प्रहरीले जनाएको छ ।