काठमाडौं । अर्थमन्त्रालयले भन्सार र आन्तरिक राजस्व कार्यालयका प्रमुख(उपसचिव) हरुको सरुवा निकालेको छ । अर्थले शुक्रबार निकालेको ६३ उपसचिवहको सरुवामा सबैभन्दा महत्वपूर्ण अवसर प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुराका नरेन्द्रप्रकाश पाण्डेले पाएका छन् । पाण्डे नेपाली कांग्रेसका नेता रमेश लेखकाका साढुभाइ हुन् । लेखकले साढुभाइलाई अमेरिकी डलरमा तलव पाउने विश्वबैंक (वल्र्डबैंक) मा साढुभाइलाई पठाइदिन भनेपछि देउवाले अर्थसचिव मधु मरासिनीलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री देउवाको जोडमा पाण्डेलाई विश्वबैंकका लागि सिफारिस गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको छ । लामो समय मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखामा कार्यरत उपसचिवहरुलाई पठाउनुपर्ने वल्र्ड बैंकमा प्रधानमन्त्री देउवाको शक्ति प्रयोग गरी पाण्डेले मौका पाएका छन् । आन्तरिक राजस्व कार्यालय, भन्सारमा बसी अकूत सम्पत्ति कमाएका पाण्डेलाई देउवाले वल्र्ड बैंकमा पठाउनका लागि भिटो लगाएका छन् । पाण्डे आन्तरिक राजस्व कार्यालय बानेश्वरको प्रमुख छन् ।
यसअघि अर्थमन्त्री जनार्दन शर्माले आफ्नै भान्जीज्वाई शाखा अधिकृत भीमकान्त न्यौपानेलाई एशियाली विकास बैंक(एडीबी)को सल्लाहकारमा पठाएपछि विवादमा आएका थिए । मुख्यसचिव, सहसचिव पठाउनुपर्ने एडीबीमा पूर्ववर्ती सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उपसचिव रमेश अर्याललाई पठाउने निर्णय गरेका थिए । तर त्यो निर्णय भएको १५ दिनमै उनलाई पठाउने निर्णय रद्द गरी अन्तर्राष्टिय सहायता महाशाखामा कहिल्यै काम नगरेका मन्त्रीका भान्जीज्वाई पठाउने निर्णय गरिएको थियो ।
एडीबी र वल्र्ड बैंकमा पठाउने मापदण्ड, अनुभव, बिज्ञता भन्दा पनि प्रधानमन्त्री, मन्त्री र नेताको आफन्त हुनुपर्ने रहेछ, अर्थकै एक उपसचिवले भने ।
त्यसो त शक्तिमा पुगेको बेला नातागोतालाई पोस्ने कुरामा सचिव मरासिनी पनि कम देखिएनन् । उनले भाइ शम्भु मरासिनीलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखमा सरुवा गरिसकेका छन् ।
एक बर्षमै सरुवा ?
अर्थमन्त्रालयका उपसचिवहरुको सरुवामा १ बर्ष अवधि पुगेका प्रमुख भन्सार प्रशासकहरुलाई पनि चलाइएको छ । निजामती सेवा ऐन नियम अनुसार २ बर्षसम्म सरुवा गर्न पाइँदैन । तर अर्थमन्त्रालयले भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मणिराम पौडेललाई एक बर्षमै मन्त्रालयमा तानेको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रामप्रसाद रेग्मी पनि तानिएका छन् । एक बर्षअघि सरुवा भएका आन्तरिक राजस्व कार्यालयका प्रमुख राजेन्द्र चुडाल पनि सरुवामा परेका छन् ।
भैरहवाको प्रमुख भन्सार प्रशासकमा ज्ञानेन्द्र ढकाललाई पठाइएको छ । रसुवाको प्रमुखमा रामप्रसाद मैनालीको सरुवा भएको छ । अर्को आकर्षक मानिने मेची भन्सारमा केशवराज ओलीलाई लगिएको छ । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुखमा जगदिश उपाध्यायलाई पठाइएको छ । आन्तरिक राजस्व कार्यालय बिराटनगरको प्रमुखमा सूर्य पोखरेललाई पठाइएको छ । उपसचिव पोखरेल अर्थसचिव मधु मरासिनी र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका धापासीस्थित छिमेकी हुन् ।
त्यसैगरी, आन्तरिक राजस्व कार्यालय कलंकीका प्रमुख ताराप्रसाद सापकोटा बिराटनगर भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा भएका छन् । उनी आकर्षकबाट आकर्षक कार्यालय पाउने भाग्यमानीमा दरिएका छन् ।
आन्तरिक राजस्व कार्यालयका हरि बस्याल आन्तरिक राजस्व विभागमा सरुवा भएका छन् । २ बर्ष जागिर अवधि भएका ताराप्रसाद भूसाललाई भक्तपुर आन्तरिक राजस्व कार्यालय भक्तपुरमा थन्क्याइएको छ । आन्तरिक राजस्व कार्यालय कालिमाटीमा बोलराज आचार्य र कलंकीमा रमेश शर्मा लाई ल्याइएको छ । आन्तरिक राजस्व कार्यालय चन्द्रगढी झापाका प्रमुख युवराज श्रेष्ठ त्रिभुवन विमानस्थल भन्सार, आन्तरिक राजस्व कार्यालय कालिमाटीका चुडाराज सापकोटालाई पनि विमानस्थल भन्सारमा पठाइएको छ ।
सरुवा भएकामध्ये कतिपय उपसचिवहरुमाथि अख्तियारले अकूत सम्पत्तिमा छानबिन गरिरहेको छ । बोलराज आचार्य, मिमांस अधिकारी, जगदिश उपाध्याय, सूर्य पोखरेलहरु राजस्व समूहका तर मार्नेमा पर्दछन् ।
भन्सार र करमा सरुवा हुने उपसचिवको सूची
काठमाडौं उपत्यकाका आन्तरिक राजस्व कार्यालयहरुमा सरुवा हुने उपसचिवहरुमा महाराज कोइराला महाराजगंज, दुर्गादत्त भण्डारी बत्तीसपुतली, दिलीपकुमार अधिकारी ठमेल, दीपक गौतम जोरपाटी, जनार्दन आचार्य टंगाल, रामप्रसाद यादव चावहिल, अर्जुन ढकाल ललितपुर १ छन् ।
काठमाडौं उपत्यका बाहिरका आन्तरिक राजस्व कार्यालयको प्रमुखमा सरुवा हुनेहरुमा गोविन्दप्रसाद अधिकारी डडेलधुरा, गौरीशंकर उपाध्याय धनगढी, पुस्कर न्यौपाने महेन्द्रनगर, गोविन्दराज आचार्य धरान, शुभ रिजाल भद्रपुर, शालिकराम आचार्य बागलुङ, टेकबहादुर अर्याल कावासोती र षडानन्द गौतम हेटौंडा छन् ।
आन्तरिक राजस्व विभागमा सरुवा हुने उपसचिवहरुमा हरि आचार्य, मित्रलाल अधिकारी, जीवन घिमिरे, दीपक गौतम, केदारनाथ शर्मा, गणेशप्रसाद नेपाल, खिमबहादुर कार्की, यामबहादुर कार्की, बिमल सापकोटा, राजुप्रसाद प्याकुरेल, नवराज थापा, डम्बरबहादुर अर्याल, राजकुमार अधिकारी र मिमांस अधिकारी छन् ।
त्यसैगरी उपसचिवहरु मुकुन्द पोखरेल, टीकाराम भूसाल, देवनारायण पौडेल र सुनिलकुमार यादवको ठूला करदाता कार्यालयमा सरुवा भएको छ ।
मध्यमस्तरीय करदाता कार्यालयमा सरुवा हुनेहरुमा गुणराज सुवेदी, सरिता सुवेदी, केशवकुमार उप्रेती र विश्वराज पोखरेल छन् ।
उपसचिवत्रय चण्डीप्रसाद घिमिरे, विकास अधिकारी र कमला खरेलको सार्वजनिक वित्त ब्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।
उपसचिवद्वय दिनेश शर्मा र राजेन्द्रप्रसाद चुडाललाई भन्सार जाँचपास कार्यालय(पीसीए)मा सरुवा गरिएको छ ।
तीर्थराज बराल सर्लाही भन्सार, धु्रवराज विश्वकर्मा कन्चनपुर भन्सार, तीर्थराज चिलवाल विमानस्थल भन्सारमा सरुवा भएका छन् ।
डिल्लीराम अर्याल सार्वजनिक ऋण ब्यवस्थापनमा सरुवा भएका छन् ।
अर्थमन्त्रालयमा सरुवा हुने उपसचिवहरुमा मोहनसिंह बस्नेत, चन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार शर्मा, गगनबहादुर बिके, युगराज पाण्डे, हरिचन्द्र ढकाल, शिवप्रसाद भण्डारी, रामहरि ज्ञवाली, निर्मल ढकाल, हिक्मत भण्डारी, नवराज पन्थी, कर्णप्रसाद तिमल्सिना, जनकराज शर्मा छन् ।