काठमाडाैं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुङ्गानालाई बखास्त गरेको हो ।
यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो ।
सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो । सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई बर्खास्त गरेको स्राेतकाे भनाइ छ ।
ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।