काठमाडौँ। गत असोज ११ गते सोमबार जहाजको ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै फर्किएको बुद्ध एयरको जहाजको सम्बन्धमा कम्पनीले आन्तरिक रुपमा गरेको जाँचबुझ रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको छ ।
सोमबार बुझाइएको उक्त रिपोर्टमा जहाजमा प्राविधिक समस्या नदेखिएको कम्पनीले उल्लेख गरेको छ । रिपोर्टमा जहाजको ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्ट रुपमा काम गरेको र प्राइमरी इण्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले तोकिएको प्रोटोकलको पालना नगरेको उल्लेख गरिएको छ। कम्पनीका अनुसार चालक दलले बाह्य स्रोत (एयर ट्राफिक कन्ट्रोलर)मा बढी भर परेको रिर्पोटले निष्कर्ष निकालेको छ।
इण्डिकेटरले ल्याण्डिङ गियर नखुलेको देखाएपछि पाइलट एजी शेर्पाले एटीसीलाई सोधेका थिए । तर, एटीसीले पाङ्ग्रा खुलेको नदेखेपछि सोही रिर्पोटिङ गरेका थिए । त्यसपछि जहाज पाइलटले काठमाडौं फर्काएका थिए । काठमाडौंमा समेत करीब २ घण्टा फन्को मारी जहाज सुरक्षित अवतरण गरेको थियो । काठमाडौंबाट बाह्य रुपमा हेर्दा पाङ्ग्रा खुलेको देखिएपछि पाइलटलाई जहाज अवतरणको अनुमति दिइएको थियो ।
प्राविधिक कारण निकै कष्कर रूपले विमान अवतण गरेपछि पाइलट शेर्पालाई यात्रुहरु, विमानस्थल समिति र एयरलायन्सलगायत सबैले धन्यवाद दिँदै मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए।
अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । तर उक्त जहाज भने अहिले नियमित उडानमा छ ।