काठमाडौं । सहकारीको रकम हिनामिना गर्ने संविधानसभा सदस्य इच्छाराज तामाङसहित १२ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले सोमबार पक्राउ गरेको छ । सिभिल सहकारीका संचालक तामाङले निक्षेपकर्ताको बचत ठगी गरेको आरोपमा पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
सिभिल सहकारीले ४६ करोड रुपैयाँ ठगी गरेको उजुरी परेको आधारमा पक्राउ गरिएको सीआइबीका डिआइजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् । पक्राउ पर्नेमा तामाङका अलावा सहकारीका केशवलाल श्रेष्ठ लगायत अन्य कर्मचारी छन् । उनीहरुले निक्षेपकर्ताको रकम ठगी गरेका हुन् ।
सिभिल होम्सका समेत सञ्चालक तामाङले सहकारीमा जम्मा गरेको बचतकर्ताको रकम फिर्ता नदिएपछि प्रहरीले पक्राउ गरेको छ । सिभिल सहकारीमा जम्मा भएको बचतकर्ताको रकम तामाङले घरजग्गामा लगानी गर्दै आएका थिए ।
सहकारीमा जम्मा भएको १६ अर्ब रकम घरजग्गामा लगानी गर्ने ओरेन्टल सहकारीका सुधीर बस्नेतलाई ८ बर्षअघि नै पक्राउ गरे पनि अहिलेसम्म बचतकर्ताको रकम फिर्ता हुन सकेको छैन ।
समस्याग्रस्त सहकारी ब्यवस्थापन कार्यालयले बचतकर्ताको रकम फिर्ताका लागि संचालक बस्नेतलाई थुनेकोमा सर्वोच्च अदालतले २०४८ पछि दर्ता भई २०७४ मा नयाँ सहकारी ऐन बन्नुअघि गरेको कारोबारका आधारमा थुन्न नपाइने भनी रिहा गरेको थियो । सर्वोच्चले समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले बस्नेतलाई कारबाही गर्न नसक्ने आदेश दिएपछि उनको सहकारी ठगीको फाइल सहकारी विभागमै फिर्ता पठाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेर राणासँग सेटिङ गरी १६ अर्ब बचतकर्ताको रकम नतिर्दा पनि बस्नेत निर्धक्क हिंडडुल गरिरहेका छन् । बचतकर्ताको रुवाबासी छ ।