नारायणप्रसाद शर्मा
काठमाडौं । असोज १३ गते मंगलवार रातको १२ बजे मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीसँग अति आवश्यक परेको भन्दै म्यासेन्जरबाट उनकै कार्यालयका कानुन तथा प्रशासन शाखा प्रमुख केशव सिलवालले एक लाख रुपैयाँ मागे ।
रातको समयमा केही विघ्नबाधा पो परेको हो कि भन्ने आशंका प्रमुख प्रशासकीय पन्थीलाई पर्न गयो । त्यसैले उनले आफ्ना सालालाई सम्पर्क गरी एक लाख रुपैयाँ ट्रान्सफर गर्न भने । जब बैंकको खातामा ट्रान्सफर गर्न लागे, उनलाई भाइ भनेर पटक पटक सम्बोधन गरेका कारण अलिक शंका लाग्यो र फोन सम्पर्क गरे । किनकि कार्यालयका जुनियर कर्मचारी भएका कारण सिलवालले सर भनेर सम्बोधन गर्ने गरेको सम्झिए । त्यसपछि फोनमा सम्पर्क भयो अनि पत्ता लाग्यो । सिलवालको फेसबुक ह्याक भएको रहेछ ।
प्रहरीलाई जानकारी दिनुपर्छ भन्दा यो संवाददातासँग उनले झन्झटिलो हुने बताए । यसरी साइवर क्राइमलाई नै प्रशासकीय प्रमुख जस्तो ब्यक्तिले पनि किन प्रहरीलाई खबर गर्न डराउँछन् ? सेक्युरिटी रिसर्चरहरुले बैंकिङ प्रणालीमा अति कमजोर सुरक्षा प्रणाली भएको बताइरहेका छन् ।
यसरी प्रशासन र कानून प्रमुख जस्तो व्यक्तिको फेसबुक र बैंक अकाउन्ट नै ह्याक गरी रकम माग गर्दा पनि प्रहरीसामु यथार्थ विवरण लुकाउने गरिन्छ । प्रमुख प्रशासकीय अधिकृत पन्थीले घटना लुकाउन खोजेको नभई निर्दोष मानिसले दुःख नपाउन् भन्नेमात्र हो । फोन गर्ने बिदेशमा रहेछ र खाता नेपालमा हुनेको दिएको रहेछ भने निर्दोष फस्न सक्छन् ।
पैसा माग्नेले बैंकिङ सिष्टम ह्याक गरेको होइन, कानुन अधिकृत केशव सिलवालको म्यासेन्जरबाट कल गरेको हो । सिलवालको फेसबुक पासवर्ड कहीँबाट लिएर त्यसबाट फोन गरी पैसा मागेको हो, पन्थीले भने ।