काठमाडाैं । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख आज पोखरा आएका छन् ।
उनीहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गरे ।
कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आएका छन् । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कूनीतिक नियोगका प्रमुखसमेत पोखरा आएका छन् ।
राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ जनाको टोली एकैपटक पोखरा ओर्लिएको हो ।
लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन उकास्न यो भ्रमणको आयोजना गरिएको हो । ‘पोखरा घुम्न सुरक्षित छ भन्ने सन्देश जान्छ । उहाँहरुले आफ्नो देशमा आफू घुमेको ठाउँबारे बताउनुहुन्छ,’ पर्यटन बोर्डका पोखरा प्रमुख भण्डारीले भने, ‘पोखराका लागि यो एउटा महत्वपूर्ण कार्यक्रम हो ।’
दिनसम्म पोखरा घुम्ने राजदूतको टोलीलाई आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रिभोज आयोजना गर्दैछ । यस्तै, सोमबार बिहान सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुनेछ । उनीहरु कास्कीको नाउँडाडा हुँदै लञ्चको लागि सराङकोट पुग्ने छन् ।
सोमबार पर्यटन दिवससमेत परेकोले सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाको टोलीले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल पुगेर फेवातालमा बोटिङ गर्नेछन् । भोलि साँझ उनीहरुलाई वाराहीचोकमा तालबाराही मन्दिरको आरती देखाइने छ ।
सोमबार साँझ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराले आयोजना गरेको मिनी सडक महोत्सवमा सरिक पछि बुमर्याङ रेष्टुरेण्टमा डिनर हुनेछ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन दिवसमा आयोजित सो कार्यक्रमले पोखराको अन्तर्राष्ट्रिय बजार विस्तार हुने विश्वास लिए । यसअघि अमेरिका र चीनका राजदूतसमेत आउने बताइएको थियो । तर उनीहरु कार्यक्रममा नआउने भएका छन् ।