काठमाडाैं । हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्म नेपाल–चीनबीच रहेको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आज (आइतबार) प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाएका हुन् । प्रतिवेदनको विषय सार्वजनिक गरिएको छैन् ।
प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाएका हुन् । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने ‘अध्ययनमा यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’
प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएका थिए ।