Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३८ क्वीन्टल सुन तस्करी मुद्धा: आजदेखि अन्तिम सुनुवाइ


    आइतबार, असोज १० २०७८
    845
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मोरङ  । झण्डै ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणसँग जोडिएको मुद्दाको आज (आइतबार) देखि अन्तिम सुनुवाइ शुरु हुँदैछ ।

    सुन तस्करीका भरिया मानिएका उर्लाबारीका शाक्य हत्या प्रकरणसँगै जोडिएको मुद्धाको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको छ ।

    अदालतका सूचना अधिकृत राजेन्द्रप्रसाद धमलाका अनुसार उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दाको सुनुवाइ यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा ‘हेदाहेर्दै’ मा राखिएको थियो ।

    उक्त मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा हुनेछ । वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेललगायतले बहस गर्नेछन् । उनीहरूका लागि बहस गर्न आइतबार र सोमबारको समय छुट्ट्याइएको छ । त्यसपछि मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने मोरङ अदालतका सूचना अधिकारी धमालले बताए । 

    २०७४ माघ ९ गते दुबईबाट तस्करी गरी साढे ३३ किलो सुन काठमाडौं ल्याएर गायव बनाइएको थियो । जुन अहिलेसम्म फेला परेको छैन ।

    सुन गायव बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको मृत्यु भएको थियो । शाक्यले गोरेको समूहमा आबद्ध रहेर सुन तस्करको भरियाका रूपमा काम गरिरहेको अनुसन्धानबाट पत्ता लागेको  प्रहरीको दाबी थियो। 

    सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाई पनि प्रतिवादी बनाइएको थियो । खत्री र राउत अहिलेसम्म थुनामै रहँदा अरू उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

    सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार