काठमाडौं । आज नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।
नेपाल र ओमानबीचको खेल कतार युनिभर्सिटी फुटबल ग्राउण्डमा नेपाली समय अनुसार बेलुका ७ बजे शुरु हुनेछ। साफको तयारीका लागि नेपाली टोली हाल कतारमै बन्द प्रशिक्षणमा रहेको छ।
हालसम्म नेपाल र ओमानले १० खेलमा प्रतिस्पर्धा गरेका छन्। ती दश वटै खेलमा नेपाल पराजित भएको छ। पछिल्लोपटक दुई टोलीको भेट फिफा विश्वकप छनोटमा सन् २००७ मा भएको थियो। सो खेलमा नेपाल २–० गोलले हारेको थियो।
यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।