जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय सिराहले आफ्नै पतिको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीकी ३८ बर्षीया हरिहरदेवी रहेकी छिन्।
उनलाई पति ३९ वर्षीय दुखहरण महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको हत्या गरेको प्रहरीको आरोप छ।
उनका पति महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए। प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमान श्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए ।
त्यही बेला हरिहरदेवीलाई भेट्न आएका मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी हत्या गरेका थिए। दुखहरणको हत्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले भारतीय नागरिक मुकेशलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखेको बताइएको छ। प्रहरीले हाल घटनाबारे थप अनुसन्धान जारी रहेको र प्रमाणहरु जुटाउने कार्य भइरहेको बताएको छ।