काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष रेवन्त गौतम र आधिकारिक ट्रेड युनियन अध्यक्ष मोहनकुमार घिमिरेसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यक्ष गौतम र आधिकारिक ट्रेड युनियन अध्यक्ष घिमिरेसहित संगठनका बरिष्ठ उपाध्यक्ष मोहन गिरी, महासचिव शरणकुमार गुरुङसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रहरीले गिरफ्तार गरी महेन्द्र पुलिस क्लवमा थुनामा राखेको छ ।
संगठनका अध्यक्ष गौतम र ट्रेड युनियन अध्यक्ष घिमिरेसहितका पदाधिकारीहरु सोमबार कार्यालयमा जाने क्रममा प्रहरीले गिरफ्तार गरेको हो ।
थुनामा राखिएका कर्मचारी संगठनका नेताहरुलाई भेट्न सोमबार साँझ नेकपा समाजवादीका नेताहरु राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, डा. बिजय पौडेल, प्रकाश ज्वाला, पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल र प्रेमलकुमार खनाल महेन्द्र पुलिस क्लवमा पुगेका थिए ।
संगठनको शनिबार सम्पन्न संगठनको बहुमत केन्द्रीय सदस्यको बैठकले अध्यक्ष केदारप्रसाद देवकोटासहित ९ जनालाई पदमुक्त गर्दै रेवन्त गौतमलाई अध्यक्ष चयन गरेको थियो । गौतम नेतृत्वमा संगठनको कार्यसमितिका पदाधिकारीहरु कार्यालयमा जाने क्रममा दुवैबीच विवाद भएको छ ।
केपी ओली निकट संगठनबाट निकालिएका अध्यक्ष केदारप्रसाद देवकोटाहरुले अवैधानिक रुपमा कार्यालय कब्जा गरी बैधानिक कमिटीका पदाधिकारीलाई कार्यालय प्रवेश गर्न रोक्न खोज्दा सोमबार दिउँसोदेखि विवाद भएको थियो ।
गौतम नेतृत्वको संगठन नै आधिकारिक भएकाले केन्द्रीय कार्यालय पनि स्वभाविक रुपमा आफूहरुकै हुने दाबी महासचिव शरणकुमार गुरुङले गरेका छन् । संगठनबाट कारबाहीमा परेका देवकोटाहरुले संगठन कब्जा गर्न खोजेपछि आफूहरुले प्रतिवाद गरेको उनले बताएका छन् ।
को को गिरफ्तार भए ?
गिरफ्तार हुने संगठनका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुमा शरणकुमार गुरुङ, जीवन भण्डारी, मोहन गिरी, बेदप्रसाद खतिवडा, सीता गुरुङ, रमेश कँडेल, रमेश भण्डारी, भीष्म दाहाल, अमर गिरी, मधु मिजार, हिराचन्द्र, हरिकाजी राई, रेशम थापा, चन्द्रप्रसाद शर्मा छन् ।
त्यसैगरी, प्रहरीले नियन्त्रणमा लिइएका कर्मचारी नेताहरुमा आनन्दलाल भट्टराई, महेन्द्र रावल, कलम खत्री, पशुपति पोखरेल, होम थापा, दिनेश लम्साल, बिरोजंग शाही, ओम कठायत, रामचन्द्र अधिकारी, जयदेव जोशी, बखत खड्का, राजन रेग्मी, केशव थापा, दिलीप गौतम, श्याम साह, संजय साह, दिपेश कार्की, राजकुमार घिमिरे, गणेश खड्का, लालबाबु यादव छन् ।