काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा दुई विधेयक स्वीकृत भएसँगै सोमबार बसेको प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक असोज ७ गते बिहिबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन् ।
एमाले सांसदहरूको अवरोधका बीच सोमबार प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । आजको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजीबीच सभामुख सापकोटाले कार्यसूचीमा प्रवेश गराएका थिए ।