Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य मन्त्रालयका सरुवामा आर्थिक चलखेलः राज्यमन्त्रीलाई गुमराहमा पार्दै सचिवको टोली


    शनिबार, असोज २ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • ८ मिनेट पाठ
  • काठमाडौं । ब्यवसायी उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्ति गरेपछि उनी एकपछि अर्को विवादमा परेका छन् । स्वास्थ्य सेवा विभागमा १२ औं तहका डा. दीपेन्द्ररमण सिंहलाई मन्त्रालयमा तानेर ११ औं तहका पनि २१ औं नम्बरका कनिष्ट डा. आरपी बिच्छालाई महानिर्देशक बनाइएदेखि नै राज्यमन्त्री श्रेष्ठ विवादमा परेका हुन् ।

    बिच्छा स्वास्थ्यमा अति विवादित र भ्रष्ट अधिकारीका रुपमा चिनिन्छन् । उनी परिवार कल्याण महाशाखादेखि कान्ति बाल अस्पतालको मेसु हुँदासम्म पनि अनियमिततामा मुछिएका छन् । काठमाडौं महानगरपालिकाले दिएको २ करोड अनुदानबाट २ बर्षसम्म कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न नसकेको आरोप बिच्छामाथि छ । तिनै बिच्छालाई खोपदेखि स्वास्थ्य सामग्री खरिदमा प्राप्त हुने ठूलो कमिसन हात पार्नकै लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाको दबाबमा ल्याइएको समाचार यत्रतत्र सर्वत्र ब्याप्त छ ।

    स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले २०७८ साउन १० मा नियुक्त भएपछि स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । तर उनी राज्यमन्त्री भएपछि भएका स्वास्थ्यका निर्णय र सरुवा बढुवाले उनलाई विवादमा पार्ने काम गरेको छ । डा. बिच्छा सहितका केही सरुवामा राज्यमन्त्री श्रेष्ठले माथिको दबाबमा गरे पनि अधिकांश निर्णयमा उनलाई समेत गुमराहमा राखी स्वास्थ्यको एक समूहले हालीमुहाली गरेको स्रोतले बताएको छ ।

    यसरी स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई सरुवा विवादमा पार्ने काममा  नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी संघको हर्ताकर्ता रामजी घिमिरे र राज्यमन्त्रीको सचिवालयका कपिल तिमल्सिनाले गर्दैआएका छन् । राज्यमन्त्री श्रेष्ठलाई गुमराहमा पारी यो समूहले उनलाई विवादमा पार्ने काम गरेको छ । आर्थिक लेनदेन गर्ने यो समूहका कारण राज्यमन्त्री श्रेष्ठ विवादमा परेका छन् ।

     सरुवाका लागि मोलमोलाई गर्ने र उम्मेदवार खोजी काम यो समूहले यही समूहले गर्दैआएको छ ।  राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको ३ बर्षभन्दा बढी समय निर्देशक भई करोडौं अकूत सम्पत्ति आर्जन गरेका सुनिल शर्मालाई ३ महिनाअघि मात्र सरुवा गरिएको थियो । तर सरुवाधन्दा गर्ने  घिमिरेले उनीबाट कुस्त रकम लिएर ३ महिनामै पुनः केन्द्रकै निर्देशकमा फर्काएको छ । राधिका थपलियालाई ३ महिना नपुगी खेदिएको छ ।

    sunil sharma.jpg

    सुनिल शर्माले केन्द्रमा ३ बर्षभन्दा बढी समय कार्यरत रहँदा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने शीर्षकमा भीडियो सन्देश, बृत्तचित्र र प्रचार सामग्री निर्माणमा दाताले प्रदान गरेको र सरकारले दिएको बजेटमा चरम अनियमितता गरी करोडौं आर्जन गरेको आरोप छ । उनी स्वास्थ्य मन्त्रालयको राज्यमन्त्री श्रेष्ठको नाममा असुली गर्ने समूहलाई दररेट अनुसार बुझाएरै ३ महिनामा पुनः केन्द्रमा फर्किएका छन् । तीन वर्षदेखि फाजिलमा रहेकी डा. राधिका थपलियालाई तीन महिनाअघि मात्र केन्द्रको निर्देशक बनाइएको थियो । तीन महिना पनि नबित्दै उनलाई हटाइएको छ । सेटिङ गर्ने र शक्तिकेन्द्रमा बुझाउन सक्ने खुबी भएका शर्मा नै पुनः केन्द्रमा आउन सफल भएका छन् ।

     यही समूहले वीरको युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा १० औं तहका कनिष्ट डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गराउन सफल भएको थियो । ११ औं तहका चिकित्सक जागेश्वर गौतमलाई हटाएर अर्का ११ औं तहका डा. रुद्र मरासिनीलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख बनाइएकोमा भोलिपल्टै उनको पत्र फिर्ता लिएर १० औं तहका कनिष्ट बस्नेतलाई बनाइएको थियो । एकै रातमा बरिष्ठ र कांग्रेसनिकट चिकित्सक मरासिनीको दिइसकेको पत्र फिर्ता लिएर बस्नेतलाई बनाउने क्रममा पनि ठूलै आर्थिक लेनदेन भएको चर्चा छ । 

    त्यसैगरी, आपूर्तिका प्रमुख भीमसेन टिंकरी लामो समयदेखि बिरामी छन् । आपूर्तिमा ११ औं तहको निर्देशकलाई नपठाई विभागका महानिर्देशक बिच्छाले नवौ तहका उपेन्द्र ढुंगानालाई नै राखेर काम गर्दैआएका छन् । मन्त्रालयका योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीका ज्वाई हुन् ढुंगाना । यो बिषयबारे राज्यमन्त्री श्रेष्ठ समेत बेखबर छन् । ११ औं तहका हाकिम ५–६ फाजिलमा छन्, मन्त्रालयमा तर नवौं तहका ढुंगानालाई राखिएको छ ।

    बाल रोग बिशेषज्ञ डा. कृष्ण पौडेल कान्ति बाल अस्पतालमा हुनुपर्ने हो । तर इपिडिमियोलोजी महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । इपिडिमियोलोजीका पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ । जुन जिम्मेवारी दिन मिल्दै मिल्दैन । मन्त्रालयको समन्वय महाशाखाको प्रमुख नै प्रवक्ता हुनुपर्ने हो । तर समन्वय महाशाखाकी प्रमुख रिता जोशीलाई प्रवक्ता नै नदिई पेन्डुलम बनाइएको छ । कृष्ण पौडेललाई दोहोरो जिम्मेवारी दिइएको छ । रिता जोशीलाई आफ्नो समूहमा नराखी पेन्डुलम बनाएका छन् । जोशी प्रधानमन्त्री देउवाबाट भनसुन गरी मन्त्रालयमा सरुवा भएर आइन् । तर उनलाई टीमबाट बाहिर राखेपछि मन्त्रालयमा आए पनि उनी कुहिराको काग बनेकी छन् ।

    राज्यमन्त्री श्रेष्ठले सरुवादेखि विभिन्न काममा अनावश्यक चासो राख्न थालेपछि निजी सचिव राखेका कपिल तिमल्सिनालाई हटाएको र वीरबहादुर रावललाई निजी सचिवालयमा राखिएको समाचार सार्वजनिक भयो । तर अहिले पनि उनी  रामजी घिमिरे र गोपाल पोखरेलसँग मिलेर सरुवाको उठन्तीधन्दामा सक्रिय छन् ।

    वीरको युनिफाइड केन्द्रीय अस्पतालमा नियुक्ति दिएको भोलिपल्टै अपामानपूर्वक खोसिएका डा. रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख पनि बनाइएन । युनिफाइडमा जस्तै ट्रमा सेन्टरमा पनि १० औं तहका डा. प्रमोद जोशीलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ । ११ औं तहका डा. मरासिनी फेरि जिल्लिएका छन् ।  

    r.jpg

    यही समूहले सिंहदरवार बैद्यखानाका निर्देशकको जिम्मेवारी पाएका डा. सबरी साहलाई राम्रो काम गर्दागर्दै मन्त्रालयमा तान्न लगाएको छ । साहले बैशाखदेखि असारसम्म टाट पल्टिसकेको र औषधि उत्पादन नै हुन छाडेको बैद्यखानामा बजेट तानतुन पारी भौतिक संरचनादेखि औषधि उत्पादन लगायत सबैमा सुधार गर्ने काम गरेका थिए ।

     डा. बंशदीप शर्मा खरेलले बैद्यखानाको अस्तित्व नै नामेट गरिसकेको अवस्थामा त्यो संस्था सुधारमा लागेका साहलाई राज्यमन्त्री श्रेष्ठले हठात् ४ महिनामै तानेका छन् । एमडी गरेका डा.साहलाई हटाएर बीएनएस शोभाराम सुवेदीलाई बैद्यखानाको प्रमुख बनाइएको छ । राज्यमन्त्री श्रेष्ठले बैद्यखानाको प्रमुख बनाएका सुवेदी आयुर्वेदका डाक्टर पनि होइनन्, उनी अकुपंचर(एकीकृत चिकित्सा)का हुन् ।  बैद्यखानामा प्रमुख हुने पहिला एमडी चिकित्सक हुन् साह । तर उनलाई हटाएर एकीकृत चिकित्साका सुवेदीलाई ऐतिहासिक पृष्ठभूमि भएको बैद्यखानाको प्रमुख बनाएका छन् ।

    औषधि व्यावस्था विभागमा बदनाम भएका र करोडौं चलखेल गरी जनस्वास्थ्यका लागि घातक औषधि आयातको सिफारिस गर्ने डा. नारायण ढकाललाई नै पुनः महानिर्देशकको जिम्मेवारी दिइएको छ । ढकाललाई हटाएर भरत भट्टराईलाई महानिर्देशक बनाइएको थियो । 

    भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशकबाट डा. प्रेमराज ज्ञवालीलाई हटाउन पनि यही समूहले मोलतोल गरेको आरोप छ । भदौ २५ सरकारले डा. ज्ञवालीलाई शिक्षण अस्पतालमै फिर्ता गरेको छ । डा. पुकारचन्द्र श्रेष्ठलाई निर्देशक बनाउनका लागि सरकारले ज्ञवालीलाई शिक्षण अस्पतालमा फर्काएको हो । पुकारचन्द्र श्रेष्ठ निदान अस्पतालका सञ्चालक हुन् । उनी विवादित चिकित्सक हुन् ।
      
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार