काठमाडौँ। चितवनको राप्ति नगरपालिकामा एक जनाको हत्या भएको छ। राप्ती नगरपालिका वडा नं. ९ का कान्छा लामाको गएराति हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार हिजो शुक्रबार बेलुकी सँगै खानपिन गरेकै बेलामा विवाद हुँदा छिमेकी दशरथ ठकुरीले फलामको गलले टाउकामा हिर्काएर हत्या गरेका हुन्।
घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।
भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गर्नुपरेको थियो । झडपमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ दुई जना स्थानीय व्यक्ति घाइते भएका छन् । मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ ।